रिहा भए निर्देशक थापा
निर्देशक सुदर्शन थापा रिहा भएका छन् । फिल्म ‘प्रसाद २’को आर्थिक लेनदेनको बिषयमा पक्राउ परेका उनी रिहा भएका हुन् । बुधबार उनलाई काठमाडौं जिल्ला अदालतले जमानतमा रिहा गर्न आदेश दिएको थियो । अदालतको आदेशपछि उनी हाजिरी जमानीमा रिहा भएका हुन् ।
निर्देशक थापालाई प्रहरीले सोमबार पक्राउ गरेको थियो । फिल्म ‘रावायण’को छायांकन सुरु गर्न लागेको समयमा प्रहरीले उनलाई काठमाडौंको माली गाउँबाट पक्राउ गरेको थियो । पक्राउपछि उनलाई बौद्ध प्रहरी वृत्तमा राखिएको थियो ।
निर्देशक थापालाई फिल्म ‘प्रसाद २’का निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले आपराधिक विश्वासघात गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।
आफूहरूको मञ्जुरीबिना फिल्मलाई देश तथा विदेशमा प्रदर्शन गरेर १ करोड ५० लाख ठगी गरेको आरोपमा गत साउन १० गते प्रहरीमा उजुरी परेको थियो । दुई निर्माताको उजुरीको आधारमा नै प्रहरीले सुदर्शनलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया