‘लन्डन टु पेरिस’मा हलवालाको देखिएन उत्साह, देशभर न्यून शोमा सीमित
गीत तथा ट्रेलर रिलिजबाटै हाइप बनाउन एकपछि अर्को गर्दै चुक्दै गएको ‘लन्डन टु पेरिस’ सिनेमाप्रति प्रदर्शकहरू निराश देखिएका छन्। जेठ २५ गते रिलिज हुने सिनेमाका लागि हालसम्म सार्वजनिक शो सङ्ख्याले उनीहरू सिनेमाप्रति आशावादी नदेखिएको देखाएको छ ।
यस्तै बुकिङ खुलिसकेको अवस्थामा यो दर्शकहरूको प्राथमिकतामा नपरेको हलवालाहरू बताउँछन्।
देशभर सिनेमाले कुल ४० शो प्राप्त गरेको छ। जबकि जेठ १० गते रिलिज भएको ‘पुजार सार्की’ले शुक्रवारका लागि ५१ शो पाएको छ भने अनमोल केसी स्टारर ‘फर्की फर्की’ले ३० शो प्राप्त गरेको छ।
२५ गते एकै मितिमा सँगै रिलिज हुने ‘गाउँ आएको बाटो’प्रति भने हलवालहरू आशावादी रहेको देखिन्छ। नवीन सुब्बा निर्देशित सिनेमालाई देशभर ‘लन्डन टु पेरिस’ भन्दा दोब्बरको सङ्ख्यामा फिल्मले कुल ८२ शो प्राप्त गरेको छ।
साम्राज्ञी आरएल शाह जस्तो फेस भ्यालु बोकेको ‘लन्डन टु पेरिस’ सिनेमाप्रति यसरी हलवाला उत्साहित नहुनुमा सिनेमाका सार्वजनिक गीत तथा ट्रेलरलाई लिइएको छ भने, स्वयं यसको निर्माण कम्पनी एबी इन्टरनेश्नल, गौतम प्रोडक्शन तथा अर्चिड भेस फिल्मस् लिमिटेड सिनेमाप्रति उदासीन देखिएको छ।
उनीहरूले प्रचारप्रसारमा खासै बल लगाएको देखिदैन्।
एबी इन्टरनेश्नलले यसअघि निर्माण गरेका ‘पासवर्ड’ तथा ‘सम्हालिन्छ कहिले मन’ सिनेमाले पनि वक्सअफिसमा खासै कमाल गर्न सकेका थिएनन्। वक्सअफिसमा यी दुवै सिनेमा असफल बनेका थिए।
‘पासवर्ड’मा सन्नी लियोनीलाई आइटम नम्बरमा नृत्य गराए पनि कमजोर कथावस्तु तथा प्रस्तुतिले सिनेमा चलेन भने कम्पनीको दोस्रो रिलिज ‘सम्हालिन्छ कहिले मन’ पनि आफ्नो बिग बजेट तथा स्टारकास्टका बाबजुद वक्सअफिसमा नराम्ररी पछारियो।
लन्डन बेस्ड यो निर्माण कम्पनीले यसरी लगातार सिनेमा फ्लप भइरहँदा पनि लगालग सिनेमा निर्माण गरिरहनुले धेरैलाई आश्चर्यमा पारेको छ। अमित बस्नेतको यो कम्पनीको अर्को एक सिनेमामा ‘हनी बनी’ पनि निर्माणका क्रममा अलपत्र परेको छ।
लगालग सिनेमा फ्लप तर निर्माण निरन्तर हुनुले यो कम्पनीले बेलायतमा छायाँकन गर्दा पाइने सरकारी सब्सिडीको गलत दुरुपयोग गरेको आशंका नेपाली फिल्मी नगरीमा गरिन थालिएको छ। एउटा सिनेमाबाट घाटा खाएका निर्माता दोस्रो सिनेमा बनाउन बिरलै फर्किएको विगतलाई हेर्दा अमितले लगालग निर्माण गरिरहनुले सिनेमाप्रति बेलायती नीतिको गलत फाइदा उठाएको आशंका गरिन थालिएको हो।
यसमा बजेट उच्च देखाएर सोही अनुसारको नाफा आर्जन गरिएको हो कि भन्ने आशंका कम्पनीमाथि हुन थालेको छ।
यो कम्पनीले निर्माण गरेको चौथो सिनेमामा ‘हनीबनी’ हाल अलपत्र अवस्थामा रहेको छ। सिनेमाका निर्देशक दिवाकर भट्टराईले आफ्नो सोचमा निर्माता हाबी भएकाले बाँकी छायाँकनका लागि उदासीन बनेको बताइन्छ।
यस प्रकारको नियत राखी सिनेमा निर्माण गरिएको हो भने अन्तर्राष्ट्रिय स्तरमा नेपाली सिनेमामा मेकरप्रति नकारात्मक धारणा बन्ने देखिन्छ। यो निर्माण कम्पनीले निर्माण गरेका अघिल्ला सिनेमाहरूको बजेट अन्य नेपाली सिनेमाको भन्दा अस्वाभाविक भएको बताइन्छ।
स्मरणीय के छ भने यस ब्यानरमा बनेका सबै सिनेमाको अधिकांश छायाँकन बेलायतमा भएका छन्। यसले पनि थप आशंका गर्ने ठाउँ दिएको छ।
एबीको ‘लन्डन टु पेरिस’मा प्रचारप्रसारमा देखिएको उदासीनताले माथि उल्लेख गरिएका आशंकाहरुलाई बल प्रदान गर्दछ।
सिनेमाका सार्वजनिक साम्रागीहरु हेर्दा झारा टार्ने किसिमले बनाएको देखिन्छ। सार्वजनिक गीत तथा ट्रेलरहरू हेर्दा रंग संयोजन तथा सिनेम्टोग्राफीमा यो सिनेमामा सम्झौता गरिएको देखिन्छ।
सिनेमा चल्ने प्रमुख आधारशिला तयार पार्ने गीतहरूलाई मानिन्छ तर यसका गीतहरू कतिखेर आए कतिखेर गए जस्तो भएका छन्। बजारमा कुनै चर्चा छैन। यसले कलाकारहरूको भविष्यसमेतलाई दाउमा लगाएको छ।
यस्तै सिनेमामाका निर्देशक घनश्याम लामिछानेको वक्सअफिस प्रदर्शन हेर्ने हो भने यो सिनेमाबाट आश गर्नुपर्ने केही छैन।’धौली’ र ‘पञ्चेबाजा’ फिल्मका लागि समीक्षकीयरुपमा केही तारिफ बटुलेका लामिछानेका अन्य सिनेमा सिनेमाका हिसाबले बिर्सन लायक छन्।
यस्तोमा २५ गते यो सिनेमाले नेपाली वक्सअफिसमा ठूलै जादु गर्नुपर्ने देखिन्छ। अन्यथा सिनेमाको हालत के हुन्छ, धेरैले अनुमान गरिसकेका छन्।
प्रतिक्रिया