‘ज्वाइँ साब’मा ‘जिरे खुर्सानी’का ‘जिरे’ अर्थात इशान

मकवानपुरको चित्लाङमा छायांकन भइरहेको फिल्म ‘ज्वाइँ साब’मा कलाकार इशान राउत पनि जोडिएका छन् । हाँस्य सिरियल ‘जिरे खुर्सानी’मा बाल–कलाकारको रुपमा अभिनय गरेपछि इशानको चर्चा निकै चुलिए । आम दर्शकले उनलाई ‘जिरे’ उपनामले समेत चिनेका थिए । 

तर, उनी लामो समयदेखि मिडियामा देखिएका थिएनन् । अब उनी बसन्त निरौलाको निर्देशनमा तयार भइरहेको फिल्म ‘ज्वाइँ साब’मा देखिदैछन् । 

रोचक कुरा त के छ भने, यो फिल्मको शीर्ष भूमिकामा जितु नेपालले अभिनय गरिरहेका छन् । जीतुले नै निर्देशन गरेको ‘जिरे खुर्सानी’बाट इशान स्थापित भएका थिए । बाल–कलाकारको रुपमा स्थापित भएका इशान अब ठूलो भइसकेका छन् । 

उनको फिल्ममा कस्तो भूमिका रहनेछ भन्ने विषयमा निर्माणपक्षले केही पनि खुलाएको छैन । तर, फिल्ममा उनलाई र जितु नेपाललाई एकसाथ देख्दा दर्शकको ध्यान पक्कै पनि तानिनेछ । 

२० दिन चित्लाङमा खिचेर यसको निर्माणपक्ष सौराहा र इलाम पुग्नेछ । फिल्ममा जितुको जोडीको रुपमा नीति शाहले अभिनय गरिरहेकी छिन् । 
राजकुमार पण्डितको प्रस्तुतिमा तयार भइरहेको यो फिल्मलाई तिहारमा रिलिज गर्ने तयारी निर्माणपक्षको छ । 

यो फिल्ममा वुद्दि तामाङ, हिमेश पन्त, रमेश वुढाथोकी, प्रकाश घिमिरे, निमा पाण्डे लगायतका कलाकारको पनि अभिनय छ । फिल्ममा मिनादेवी पाण्डे, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहनेछ । 

विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ ।