नयाँ बर्षसँगै नेपाली फिल्मले दिएको खुशी

गतबर्ष मुश्किलले आधा दर्जन नेपाली फिल्म हिट भए । अधिकांश फिल्म औषत पनि चलेनन् । फिल्मबाट निर्माताहरूले ठूलो रकम गुमाए । 
तर, यो बर्ष लागेसँगै फिल्मको मौसम बदलिएको छ । अधिकांश फिल्मले निर्मातालाई खुशी दिएका छन् । यसले, नेपाली फिल्मका लागि यो बर्ष सुखद बन्नेछ भन्ने आँकलन गर्न सकिन्छ । 

गतबर्षको चैत्र ९ गतेबाट रिलिजमा आएको फिल्म ‘महाजात्रा’ले बक्स अफिसमा हंगामा मच्चायो । यो बर्षको वैशाख महिनासम्म नै चलेको यो फिल्मले दर्शकको साथ मात्र पाएन, बक्स अफिसमा १६ करोडको आँकडा पनि पार गर्यो । 

यो बर्षको सुरुवातमा रिलिज भएको फिल्म ‘डिग्री माइला’ असफल भएन । भलै, फिल्मले अपेक्षित व्यापार त गरेन । तर, निर्मातालाई यो फिल्मबाट घाटा भएको छैन । 

यस्तै, यो बर्षको पहिलो महिनामा ‘बोक्सीको घर’ले १० करोडको आँकडा पार गर्यो । १ करोडमा बनेको यो फिल्मबाट निर्माताले राम्रो मुनाफा कमाएका छन् । फिल्म ‘मनसरा’ पनि राम्रो चल्यो । यो फिल्मको पहिलो साताको भन्दा दोस्रो साताको व्यापार राम्रो छ । अझै पनि केही हलमा फिल्म चलिरहेको छ । 

फिल्म ‘खजुरे ब्रो’ले सुखद नतिजा देखाएन । यो बर्ष चलेका फिल्ममा निर्मातालाई ठूलो घाटा बनाएको फिल्म ‘खजुरे ब्रो’ मात्र हो । 

जेठको १० गतेबाट रिलिजमा आएको दुई फिल्म ‘पुजार सार्की र फर्की फर्की’ हलमा चलिरहेका छन् । सुरुवातको १० दिनमा यी दुई फिल्मले पनि सुखद व्यापार गरे । फिल्मबाट निर्माताले कमाएको आँकडा सार्वजनिक भएको छैन । तर, यी दुबै फिल्मले पनि फिल्म क्षेत्रमा छुट्टै रौनकता छरेका छन् । 

यसले के देखाउँछ भने, फिल्म राम्रो बनाएर राम्रो मार्केटिङ गर्न सक्ने हो भने दर्शकले साथ दिन्छन् । अर्को कुरा, यो बर्ष हिन्दी फिल्मको अभाव पनि नेपाली बजारमा चरम रुपमा देखिएको छ । दर्शकले औषत बजेटमा बनेका फिल्मप्रति मन गरेका छैनन् । नाम चलेका स्टारको फिल्म यो बर्ष निकै कम रिलिज हुनेछन् । जसको फाइदा नेपाली फिल्मले उठाइरहेका छन् ।