असोजमा मारामार

जेठ महिनामा देखिएको बक्स अफिसको भिडन्तले दर्शकको ध्यान तान्यो । अब विस्तारै यो प्रतिस्पर्धाको माहोल सेलाउन थालेको छ । तर, यस्तै माहोल असोज महिनामा देखिने संभावना उच्च छ । 

असोजको महिना दशैंको महिना हो । यो महिनामा हालसम्म घोषणा गरिए अनुसार, ६ वटा फिल्मको रिलिज पक्का छ । तर, यो आँकडा माथि तल हुनसक्छ । 

असोज ३ मा फिल्म ‘ह्रस्व दीर्घ’को रिलिज मिति प्रि–पोन्ड भएपछि प्रतिस्पर्धा त्रिपक्षीय हुनेछ । यो मितिमा ‘खुस्मा, आउट लः दफा २१९ र ह्रस्व दीर्घ’ रिलिज हुने पक्का छ । अब, असोजको ११ गते हालसम्म कुनै पनि फिल्म रिलिज हुने संभावना देखिएको छैन । 

तर, दशैंमा ‘बलिदान, बेहुली फ्रम मेघौली र छक्का पन्जा ५’को प्रदर्शन मिति घोषणा भइसकेको छ । हालसम्म, छायांकन सुरु नभएकाले ‘बलिदान’लाई दशैंमा रिलिज गर्न निर्देशक सन्तोष  सेनलाई केही समस्या पर्न सक्ने आँकलन गरिएको छ । तर, यदि दशैंमा ‘बलिदान’ रिलिज नभएको खण्डमा अर्को फिल्म ‘१२ गाउँ’लाई रिलिज गर्ने तयारी पनि गरिएको वुझिएको छ । 

दीपकराज गिरी र उनको टिमले फिल्म ‘छक्का पन्जा ५’लाई फूलपातीमा रिलिज गर्ने घोषणा गरिसकेको छ । तर, अर्को फिल्म ‘बेहुली फ्रेम मेघौली’लाई भने दशैंमा रिलिज गर्ने बताइए पनि, मिति घोषणा गरिएको छैन । 

तर, श्रोतका अनुसार नायिका तथा निर्मात्री स्वस्तिमा खड्का र कलाकार निश्चल बस्नेतले यो फिल्मलाई पनि फूलपातीमा नै रिलिज गर्ने तयारी गरेका छन् । यसैले, बक्स अफिसमा दीपकराजको टिम र निश्चलको टिमको भिडन्त पक्का जस्तै छ । 

यी सबै फिल्मको लाइनअप र तयारी हेर्दा असोज महिना नेपाली फिल्मका लागि प्रतिस्पर्धाको अर्को महिना हुने देखिएको छ ।