दयाहाङ भन्छन्–‘स्क्रिप्ट चित्त नवुझेसम्म छायांकनमा जादिनँ’
नायक दयाहाङ राईले अब आफूले कुनै पनि स्क्रिप्ट चित्त नवुझेसम्म काम नगर्ने बताएका छन् । जेठको २५ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘गाउँ आएको बाटो’को प्रचारका क्रममा मेरो फिल्मसँग कुरा गर्दै दयाले भने–‘समाजसम्म पुग्ने स्क्रिप्ट चाहिन्छ । हामीले बनाउने फिल्म स्वतन्त्र हुन आवश्यक छ । मैले एक बर्ष अगाडि नै केही फिल्मका निर्मातालाई स्क्रिप्ट चित्त नवुझेसम्म छायांकनमा जाँदिन भनेको थिएँ । उहाँहरू अहिले पनि स्क्रिप्ट नै लेखिरहनुभएको छ । थुप्रै ड्राफ्टहरु तयार भएका छन् । अब, झरीमा त फिल्म छायांकन हुँदैन होला ।’
दयाले आफूले डेढ दशकको अवधिमा ५० वटा भन्दा बढी फिल्ममा काम गरेको बताए । उनले अगाडि भने–‘फिल्म भनेको एक पटकका लागि मात्र गर्ने होइन । भोलिसम्म सम्झने वा गर्व गर्न सक्ने फिल्म कति छ भनेर पनि हेर्न पर्यो नी होइन । हाम्रा मेकरहरु स्वतन्त्र हुन सकेनन् । एउटा फिल्म चलेपछि त्यसैको पछि लाग्ने बानी धेरैको छ ।’
दर्शकले पनि आफूलाई धेरै भन्दा राम्रो फिल्ममा काम गरेको हेर्न चाहेको दयाले बताए । उनले, अब आफू मण्डला थिएटरलाई अझै राम्रो बनाउन लागिपर्ने पनि सुनाए ।
फिल्म ‘गाउँ आएको बाटो’ले कथाको बाटो तय गरेको उनको तर्क छ । अहिले बनिरहेका थुप्रै फिल्महरू बाटोमा उफ्रिएर हिँड्ने गरेको भन्दै दयाले यो फिल्मले भने आफ्नो बाटो कोरेको सुनाए ।
नेपालमा विदेशका विभिन्न फिल्म महोत्सवमा सहभागी भएका फिल्म वुझ्न गाह्रो हुन्छ भन्ने भास्य स्थापित भएको भन्दै दयाले ‘गाउँ आएको बाटो’को कथा भने साधारण रहेको उनले सुनाए ।
प्रतिक्रिया