पर्यटन प्रवद्र्धनका लागि उपयुक्त माध्यम फिल्म होः निखिल उप्रेती

नायक निखिल उप्रेतीले ‘पर्यटन प्रवद्र्धन’का लागि सबैभन्दा उपयुक्त माध्यम भनेकी फिल्म भएको बताएका छन् । दाङको शान्तिनगर गाउँपालिका ३ सुकेकोटमा शनिबार सम्पन्न भएको ‘पर्यटन प्रवर्द्धनका लागि चलचित्र बहस’ कार्यक्रममा बोल्दै निखिलले यस्तो बताएका हुन् ।

उनले कार्यक्रममा भने–‘फिल्म सुन्दर देखाउन कथाले मात्र होइन, सुन्दर भूगोलको महत्वपूर्ण भूमिका रहन्छ । आज फिल्म छायांकन भएकै कारण कतिपय देशहरू पर्यटकका लागि गन्तव्य बनेका छन् ।’

निखिलले फिल्म छायांकनका लागि दाङ उपयुक्त जिल्ला भएको बताए । यसका लागि पहिला नेतृत्वकर्ता र नागरिकहरूमा आफ्नो ठाउँप्रतिको प्रेम अनिवार्य भएको उनको भनाई थियो ।

यस्तै, कार्यक्रममा आफ्नो भनाई राख्दै शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले पनि पालिका भित्र रहेका धार्मिक पर्यटकिय क्षेत्र र सम्भावित पर्यटन प्रबर्द्धनका लागि गाउँपालिकाले बजेट विनियोजन गर्न पछि नहट्ने बताए ।

चलचित्र पत्रकार संघका केन्द्रीय उपाध्यक्ष कुबेर गिरीले पर्यटन प्रवर्द्धनका लागि फिल्म सशक्त र सहज माध्यम भएको बताए । चलचित्र पत्रकार संघ, दाङको आयोजना र शान्तिनगर गाउँपालिकाको सहयोगमा आयोजित कार्यक्रम भव्य रुपमा सम्पन्न भएको अध्यक्ष सन्तोष केसीले जानकारी दिए ।