भारतबाट द्धन्द्ध निर्देशक बोलाउँदा नेपाली निर्देशकको आक्रोश

नायक विराज भट्टले बलिउडबाट द्धन्द्ध निर्देशक बोलाएर फिल्म ‘१२ गाउँ’को एक्सन कोरियोग्राफी गरिरहेका छन् । तर, यो कुरामा नेपालका चर्चित द्धन्द्ध निर्देशक हिमाल केसीलाई भने चित्त बुझेको छैन । सामाजिक संजालमा स्टाटस लेख्दै उनले द्धन्द्ध निर्देशक जति अब डुबेर मरे हुन्छ भन्दै आक्रोश पोखेका छन् ।

उनले लेखेका छन्–‘द्धन्द्धमा परिवर्तन दिन नसक्दा छिमेकी राष्ट्रबाट झिकाउन बाध्य पर्यो ? जसले झिकाउनु भयो उहाँले बिर्सनु भएन कि छिमेकी राष्ट्रका द्धन्द्ध निर्देशकबाट वा नेपाली फिल्म क्षेत्रको द्धन्द्ध निर्देशकबाट एक्सन स्टार बन्नु भएको हो । हाम्रो बजार सानो छ, हामीसँग पर्याप्त श्रोत साधना पनि छैन र सीमित बजेटमा हामीले काम गर्नुपर्छ । छिमेकी राष्ट्रका द्धन्द्ध निर्देशकले पाउने सुविधा, श्रोत–साधन के हामीले पाएका छौं ?’

उनले, श्रोत र साधन पर्याप्त नदिने तर यसै विदेशबाट द्धन्द्ध निर्देशक मगाएर हुन्छ भन्दै आक्रोश पोखेका हुन् । उनले अगाडि लेखेका छन्–‘तर, चेतना भया हामी नेपाली द्धन्द्ध निर्देशक पनि कमी छैनौं । द्धन्द्धमा के परिवर्तन, त्यही संसारले हेरेको साउथ इण्डियनको द्धन्द्ध होइन ? नेपाली द्धन्द्ध निर्देशक ज्यूहरु सावधान, आज एउटाले लिएर आयो, भोलि अर्कोले  लिएर आउँछ । आज नेपाली फिल्म क्षेत्रको बेइज्जत भइरहेको छ ।’

द्धन्द्ध निर्देशक केसीले नेपालमा पनि एक्सन निर्देशकहरू क्षमतावान् भएको भन्दै उनीहरूसँगै नेपाली मेकरले काम गर्नुपर्ने तर्फ इङ्गित गरेका छन् ।