फिल्म क्षेत्र एकातिर, ‘लण्डन टू पेरिस’ अर्कोतिर
नेपाली फिल्म क्षेत्रले यतिबेला दुई वटा कथा समातेको छ । केही बर्षदेखि दर्शकले अर्गानिक कथालाई मन पराइरहेका छन् । अर्गानिक कथाले नै दर्शकको मन जितिरहँदा हलमा पनि यस्तै फिल्मको व्यापार गज्जब छ ।
फेरि अर्कोतिर अनमोल केसीको क्रेज फर्किएको छ । अझ भनौ, स्टारहरूको क्रेज पनि फिल्म क्षेत्रमा विक्न थालेको छ । फिल्म ‘फर्की फर्की’मा अनमोल केसी मात्र बिकेका छैनन्, एउटा उच्च क्यानभास भएको फिल्म पनि बिकेको छ । यसैले, बजारमा दर्शकले कस्ता खालका फिल्म रुचाइरहेका छन् भन्ने कुरा यी दुई फिल्मबाट थाहा हुन्छ ।
यसैले, अहिले फिल्मको बजार एकातिर कुँदिरहेको छ । तर, जेठको २५ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘लण्डन टू पेरिस’ भने अर्कोतिर कुँदिरहेको छ । स्टार क्रेजको कुरा गर्ने हो भने नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहका फिल्म पहिले जस्तो विक्दैनन् । फिल्मको प्रचार सामाग्रीहरु धमाधम सार्वजनिक हुँदा पनि बजारमा खासै प्रभाव पार्न नसक्नुको कारण यही हो ।
बजारमा कि त अर्गानिक फिल्म चलिरहेका छन् कि त अनमोल केसी चलिरहेका छन् । यस्तो अवस्थामा ‘लण्डन टू पेरिस’ चल्ने आधारहरू के हुन् त ? मेकर आफैंलाई पनि यो फिल्म के हुन्छ थाहा छैन ।
निर्देशक घनश्याम लामिछानेको बक्स अफिस इतिहास पनि गतिलो छैन । उनले निर्देशन गरेका ‘चित्रा, धौली, पञ्चेबाजा’ लगायतका फिल्मलाई दर्शकले साथ दिएनन् । उनलाई दर्शकले अझै पनि पत्याएका छैनन् ।
यस्तै, फिल्मको निर्माण कम्पनी एबी फिल्मस्ले बनाएका फिल्ममा पनि दर्शकको मन गएको छैन । ‘पासवर्ड, सम्हालिन्छ कहिले मन’ लगायतका फिल्म चलेनन् । ‘हनी बनी’ बनाएर पनि यो टिमले रिलिज गर्ने आँट अझै गर्न सकेको छैन । यस्तो अवस्थामा ‘लण्डन टू पेरिस’ चल्ने आधार के त ?
प्रतिक्रिया