‘एक्टर’का लागि नेपाल आइपुगे राजवल्लभ, प्रदीपसँग भेट

नायक राजवल्लभ कोइराला नेपाल आइपुगेका छन् । उनी, आइतबार बिहान फिल्म ‘एक्टर’मा काम गर्नका लागि नेपाल आइपुगेका हुन् । 

पहिलो चरणको छायांकन पोखरामा गरेको यसको निर्माणपक्षले दोस्रो चरणको छायांकन भोलिबाट सुरु गर्दैछ । राजवल्लभ यही फिल्ममा काम गर्नका  लागि नेपाल आइपुगेका हुन् । उनी, यो फिल्ममा ९ बर्षपछि कमब्याक गर्दैछन् । 

उसो त निर्माणपक्षले राजवल्लभको भूमिकाका बारे केही पनि खुलाएको छैन । तर, फिल्ममा उनी नायिका आना शर्माको पिताको भूमिकामा देखिन लागेको वुझिएको छ । 

नेपाल आएका राजवल्लभको यो फिल्मका कलाकारसँग भेट पनि भइसकेको छ । फिल्मका मुख्य नायक प्रदीप खड्का र नायिकाद्धय आना शर्मा र दिव्या रायमाझीसँग उनले भेट गरिसकेका छन् । आना र प्रदीपसँग भने राजवल्लभको पहिलो भेट हो । 

राजन भुसालको निर्देशनमा थमन कुमार भण्डारीको लगानी रहने फिल्मको प्रदर्शन मिति तिहारलाई तोकिएको छ । अदृत फिल्मस् र मोती फिल्मस्को व्यानरमा निर्माण भइरहेको यो फिल्ममा एनिस भुसाल सह–निर्माताको रुपमा छन् । फिल्ममा नरेन्द्र मैनालीको छायांकन छ । 

राजवल्लभले ९ बर्ष अगाडि फिल्म ‘हे यूवा’मा काम गरेपछि नयाँ फिल्ममा काम गरेका छैनन् । उनी, फिल्म ‘पर्खी बसेँ’बाट डेब्यू गरेपछि नै सुपरहिट भएका थिए । फिल्म ‘हाइवे टू धम्पुस’मा काम गर्नका लागि अमेरिका पुगेपछि उनी उतै बस्न थालेका हुन् ।