वडाध्यक्षको फेसबुकमा ‘पुजार सार्की’को भिडियो छ्याप्तछ्याप्ती

सामाजिक संजालमा कुनै पनि फिल्मको दृश्य खिचेर पोस्ट गर्ने कानुन विपरीत हो । तर, सामाजिक संजालको बढ्दो प्रयोगसँगै हलमा लागेका नेपाली फिल्महरू छ्याप्तछ्याप्ती सामाजिक संजालमा भेटिन थालेका छन् । जसले, निर्मातालाई लाखौँको नोक्सान हुने गरेको छ । यस्तै, फिल्मको डिजिटल राइट्स महंगोमा खरिद गरेका कम्पनीहरू पनि लाखौं घाटा सहन वाध्य भएका छन् । 

जेठको १० गतेबाट रिलिजमा आएको फिल्म ‘पुजार सार्की’का दृश्यहरु हलमा खिचेर सामाजिक संजालमा पोष्ट भइरहेका छन् । यो कुरामा कानुन पालना गराउनुपर्ने निकायका व्यक्तिहरू नै अगाडि देखिएका छन् ।

यो फिल्मका लामा लामा दृश्यदेखि क्लाइमेक्सका दृश्यसमेत बैतेश्वर गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष मिनकुमार सिवाकोटीले आफ्नो फेसबुकमा पोष्ट गरेका छन् । हेर्नैपर्ने फिल्म भन्दै उनले क्लाइमेक्सको दृश्य समेत सामाजिक संजालमा पोष्ट गरेका छन् । उनको सामाजिक संजालमा फिल्मको महत्वपूर्णदेखि क्लाइमेक्सका सम्पूर्ण दृश्य पोष्ट भएको भेट्न सकिन्छ । 

राज्यको मुख्य निकायमा बसेर पाइरेसी गर्नेलाई कारबाही गर्नुपर्ने व्यक्तिले नै यसरी फिल्मका दृश्यहरु हलमा खिचेर पोष्ट गरेपछि आम जनताले के बुझ्छन् ? आम मानिसहरूलाई यो विषयमा जानकारी दिनुपर्ने अध्यक्षले नै फिल्म खिचेर पोष्ट गरेपछि पाइरेसीको मारमा परेका मेकरलाई न्याय कसले दिन्छ ?

दिनेश राउतको निर्देशनमा विकास सुवेदीको लेखन रहेको यो फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अन्जना बराइली, परीक्षा लिम्बु लगायतका कलाकारको अभिनय छ । 

सामाजिक संजाल टिकटक, रिल्समा पनि फिल्मका थुप्रै दृश्यहरु भेटिन्छन् । यसरी, फिल्म खिचेर सामाजिक संजालमा पोष्ट गर्नु कानुन विपरीत हो । यदि, निर्माताले उजुरी दिएको खण्डमा लाखौं रुपैयाँ जरिवाना तिनुपर्ने हुन्छ । तर, पाइरेसीको विषयमा आम मानिसहरू सजग नहुँदा निर्माताले लाखौं घाटा व्यहोरिरहेका छन् ।