मैले सुरुवातबाटै नराम्रो मान्छेहरुसँग काम गरेँ, जसले मलाई गाह्रो बनायोः साम्राज्ञी
नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले आफूले सुरुवातबाट नै नराम्रो मान्छेहरुसँग काम गरेकाले अहिले पनि कसैलाई विश्वास गर्न नसकेको बताएकी छिन् ।
मेरो फिल्मसँगको कुराकानीमा उनले भनिन्–‘मैले सुरुवातबाट नै नराम्रो मानिसहरूसँग काम गर्नु पर्यो । त्यसले मलाई मानसिक रुपमा गाह्रो बनायो ।
मानिसहरूले यो कुरा बुझ्नुहुन्न । मैले सुरुवातका ३–४ वटा फिल्ममा जसरी काम गरेँ, त्यसकै कारण मैले यो क्षेत्रलाई गम्भीर रुपमा लिन सकिनँ ।’
साम्राज्ञीले अगाडि भनिन्–‘अहिले यो क्षेत्रप्रति म गम्भीर छु । तर, यहाँका मानिसहरूलाई लिन सक्दिनँ भन्ने लाग्छ । किनकी, मलाई गाह्रो भयो । मैले अहिले पनि कसैलाई विश्वास गर्न सकेकी छैन र यो कहिले पनि हुन सक्छ जस्तो मलाई लाग्दैन ।’
साम्राज्ञीले आफूले सुरुवाती दिनमा यो क्षेत्रमा काम गर्छु, यही बस्छु भनेर नसोचेको तर्क गरिन् । तर, आफ्नी आमाले सधैं नै आफूलाई प्रेरणा दिएको उनको तर्क छ । तर, अहिले आफूले आफूमाथि विश्वास गर्न थालेकाले आफू बलियो भएको उनले बताइन् । उनले भनिन्–‘म अहिले स्क्रिप्टलाई लिएर गम्भीर छु । अनि आफूमाथि नै विश्वास गरिरहेकी छु ।’
साम्राज्ञीले अझै पनि आफूले खोजे जस्तो स्क्रिप्ट नआएको तर्क गरिन् । भनिन्–‘म केही फरक भूमिका गर्न चाहन्छु । तर, मलाई सधैं नै एकै प्रकारका स्क्रिप्टमा अफर आइरहेको छ । मलाई मनोटोनस भएको छ । तर, खै थुप्रै स्क्रिप्टमध्ये केही स्क्रिप्ट रोज्नै पर्ने वाध्यता छ ।’
आफूले अब आफूमाथि नै विश्वास गर्न थालेकाले नै ‘रुमानी रंगहरु’ साइन गरेको साम्राज्ञी बताउँछिन् । साम्राज्ञीले फिल्म ‘ड्रिम्स’बाट करिअर सुरुवात गरेकी थिइन् । यसपछि, उनले ‘ए मेरो हजुर २, इन्टु मिन्टु लण्डन’मा लगायतका फिल्ममा काम गरिन् । यी तीनै फिल्मका मेकरसँग उनको सम्बन्ध राम्रो छैन ।
प्रतिक्रिया