‘पूर्ण बहादुरको सारङ्गी’मा अन्जना अनुवन्धित

जेठको तेस्रो साताबाट छायांकनमा जान लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को लागि नायिका फाइनल गरिएको छ । यो फिल्ममा अब अन्जना बराइलीले मुख्य भूमिकामा रुपमा काम गर्ने पक्का भएको हो । यो फिल्ममा कलाकारहरू प्रकाश सपुत, मुकुन भुसाल, विनोद न्यौपाने, भोलाराज सापकोटा, देशभक्त खनाल लगायतका कलाकार फाइनल भइसकेका छन् । 

फिल्ममा अन्जनाको भूमिका के हुनेछ भन्ने विषयमा निर्माणपक्षले केही पनि खुलाएको छैन । जेठको २१ गतेबाट छायांकनमा जान लागेको फिल्ममा सबै कलाकारहरूको भूमिका मुख्य रहेको निर्माता विनोद पौडेलले जानकारी दिएका छन् ।

सेभेन सिजको ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा सरोज पौडेलको लेखन तथा निर्देशन रहनेछ । सामाजिक कथावस्तुमा बन्ने यो फिल्मका लागि अन्य कलाकार फाइनल हुने क्रममा रहेको निर्माणपक्षले जानकारी दिएको छ ।

विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहने फिल्मका कार्यकारी निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ हुन् । महेश दवाडीको पटकथा तथा संवाद रहने यो फिल्ममा प्रशान्त सिवाकोटीको संगीत रहनेछ । यो फिल्मलाई आउँदो बर्ष रिलिज गर्ने तयारी निर्माणपक्षको छ ।