फिल्म क्षेत्रको नाम ‘सिनेमान्डु’ राख्ने सहमति, चौतर्फी विरोध
चलचित्र विकास बोर्डले फिल्मसँग जोडिएका विभिन्न संघसंस्थासँग छलफल गरेर फिल्म क्षेत्रको नाम ‘सिनेमान्डु’ राख्ने निर्णय गरेको छ । नेपाली फिल्म क्षेत्रलाई ‘कलिउड’ भनिए पनि यो आधिकारिक भने होइन । यसैले, बोर्ड अध्यक्ष भुवन केसीले फिल्म क्षेत्रको न्वारन गर्न लागिपरेका थिए ।
अब, बोर्डले सूचना तथा संचार मन्त्रालयमा यो नाम पठाउनेछ । मन्त्रिपरिषदबाट पारित भएपछि नेपाली फिल्म क्षेत्रले नयाँ नाम पाउनेछ ।
तर, फिल्म क्षेत्रको नाम ‘सिनेमान्डु’ राख्ने सहमति भएपछि सामाजिक संजालमा भने विरोध भइरहेको छ । अहिले फिल्म क्षेत्रको नाम राख्न किन आवश्यक पर्यो भन्ने खालका तर्कहरु पनि सुनिएका छन् । अर्कोतिर, ‘सिनेमान्डु’ नामले सिंगो फिल्म क्षेत्रको प्रतिनिधित्व गर्न नसक्ने तर्क समेत देखिएका छन् ।
यस्तै, चलचित्र विकास बोर्डले गर्नुपर्ने थुप्रै काम हुँदाहुँदै नाम राख्ने विषयमा सक्रियता देखाएको भन्दै पनि आलोचना भइरहेको छ ।
तर, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी भने आफ्नो कार्यकालमा फिल्म क्षेत्रको नाम राख्न अग्रसर भएको देखिन्छ ।
प्रतिक्रिया