‘लण्डन टू पेरिस’ले बढाउन सकेन उत्साह, साम्राज्ञी कति आशावादी ?

जेठको २५ गते आउन अब १० दिन मात्र बाँकी छ । तर, यो मितिमा रिलिजमा आउन लागेको फिल्म ‘लण्डन टू पेरिस’प्रति दर्शकको उत्साह बढेको छैन । फिल्मका गीत, ट्रेलर र टिजरले पनि फिल्मप्रतिको उत्साह बढाएको छैन ।

अब, यसको निर्माणपक्षलाई प्रचारको कुन नयाँ तरिका अपनाइयो भने दर्शकको चाहना बढ्छ भनेर खोज्नुपर्ने अवस्था छ । घनश्याम लामिछाने निर्देशित यो फिल्ममा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह छिन् ।

तर, साम्राज्ञी आफैंलाई पनि फिल्मप्रति ठूलो आशा छैन । पत्रकारसँग भेटिएकी साम्राज्ञीले आफूलाई फिल्मको व्यापार ठीकठाक मात्र हुन्छ कि भन्ने आशा रहेको सुनाइन् । उसो त अहिले साम्राज्ञीको पनि क्रेज पहिलेको जस्तो छैन । साम्राज्ञीको नाममा फिल्म बिक्छ भन्ने आधार नै छैन । उनका फिल्मप्रति दर्शकको मोह किन यसरी घट्यो, यो उनले नै सोच्नुपर्ने अवस्था छ । 

फिल्ममा निश्चल खड्का, गरिमा शर्मा, कविर खड्का लगायतका कलाकारको पनि अभिनय छ । तर, यी तीन कलाकार आफै दर्शकमाझ चिनिनका लागि संघर्षरत छन् । 

यसअर्थमा, जेठको २५ गतेबाट रिलिजमा आउन लागेको फिल्मबाट साम्राज्ञी आफ्नो स्टारडम फेरि उचाइमा लैजान त चाहन्छिन् । तर, उनी आफै फिल्मप्रति आत्मविश्वास देखाइरहेकी छैनन् । यस्तो अवस्थामा, दर्शकको मोह फिल्मप्रति बढाउन के गर्ने विषयमा नै निर्माण टिम अन्योलमा छ ।