वर्षा सिवाकोटी लेख्छिन्–‘मेरै फिल्म चले जसरी पुलकित भएकी छु’
यो बर्षको सुरुवातदेखि नै नेपाली फिल्ममा दर्शक फर्किएका छन् । जेठको १० गतेबाट रिलिजमा आएका दुई फिल्म ‘फर्की फर्की र पुजार सार्की’ले पनि दर्शक राम्रोसँग तानिरहेका छन् ।
वैशाखमा रिलिजमा आएका फिल्महरूले पनि दर्शकको राम्रै साथ पाए । यसले, सिंगो फिल्म क्षेत्रलाई खुशी दिएको छ । यसैबिच, नायिका वर्षा सिवाकोटीले नेपाली फिल्म चलेको देख्दा आफ्नै फिल्म चले जसरी पुलकित भएको बताएकी छिन् ।
उनले सामाजिक संजालमा लेखेकी छिन्–‘केही समययता फिल्म हलमा दर्शकहरुको ओइरो देख्दा म मेरै फिल्म चले जसरी पुलकित भएको छु । फिल्म हलहरुमा फर्किएको यो बहार, उत्साह, उमंगलाई हामीले आज उत्सवका रुपमा मनाएर मात्रै हुँदैन, भविष्यसम्म जोगाइरहन सक्नुपर्छ ।’
उनले, अगाडि लेखेकी छिन्–‘राम्रो फिल्म दियौँ भने त्यसको स्वाद चाख्ने दर्शक त रहेछन् त ? फिल्म हलहरुमा देखिएको हाउसफुल दृश्यहरुले फेरि यो तर्कलाई प्रमाणित गरिदिएको छ । अब, समग्र फिल्म क्षेत्रले यसलाई मनन गर्दै अघि बढ्नुपर्छ ।’
प्रतिक्रिया