‘फर्की फर्की’ इनिसियल चलेपछि अनमोल–‘बर्षमा २ वटा भन्दा बढी फिल्म गर्न सक्दिनँ’

नायक अनमोल केसीले आफ्नो स्टारडम फेरि प्रमाणित गरिदिएका छन् । ‘छड्के २’ नचलेपछि अनमोलको स्टारडमलाई लिएर विभिन्न खालका चर्चा भएका थिए । तर, फिल्म ‘फर्की फर्की’ले अनमोल केसीको स्टारडम पुष्टि गरिदिएको छ ।

बिहिबार, शुक्रबार र शनिबार हलमा पुगेका अधिकांश दर्शक अनमोललाई नै हेर्न पुगेका थिए । हलबाट निस्किएका अधिकांशले अनमोलको प्रशंसा गरे । 

यो फिल्म इनिसियल रुपमा चलेपछि अनमोललाई पनि ठूलो राहत भएको छ । शनिबार दिनभर हलमा पुग्दा अनमोल निकै खुशी देखिए । 

अब, कसरी काम गर्नुहुन्छ त भन्ने मेरो फिल्मको प्रश्नमा अनमोलले भने–‘राम्रो फिल्म गर्न मन लागेको छ । अब, म झनै मिहिनेत गर्नमा लाग्छु । म एउटा मात्र भूमिकामा नभएर फरक–फरक भूमिकामा काम गर्न इच्छुक छु ।’

अनमोलले आफूले बर्षमा दुई वटा भन्दा बढी फिल्ममा काम गर्न नसक्ने समेत स्पष्ट पारे । उनले अगाडि भने–‘जति मैले आफूलाई चिनेको छु, म धेरै फिल्ममा काम गर्न नै सक्दिनँ । म कोशिश त गर्छु, तर दुई वटा भन्दा बढी फिल्म त आउँदैन होला । दुई वटा सम्म भने गर्न सक्छु ।’

अनमोलले अब केही हप्तापछि फिल्म ‘जेरी २’को छायांकन सुरु गर्दैछन् । नायक केसी यो फिल्मलाई लिएर पनि उत्साहित देखिएका छन् ।