जब ‘फर्की फर्की र पुजार सार्की’का निर्देशक मिडियामाझ घेरिए...
शनिबार दुई फिल्म ‘फर्की फर्की र पुजार सार्की’ले बक्स अफिसमा बम्पर व्यापार गरे । हलमा दर्शकको ठूलो भिड लाग्यो । नेपाली फिल्मका चार स्टारहरूले आफ्नो स्टारडम पुष्टि गरिदिएका छन् ।
यी दुई फिल्म रिलिज अगाडिदेखि नै भिडन्तको चर्चा खुबै भयो । विशेषगरि, ‘पुजार सार्की’का निर्माताले ‘फर्की फर्की’सँग फिल्म जुधाउने निर्णय गरेसँगै आलोचना पनि भयो ।
तर, जेठको १० गतेबाट दुबै फिल्म सानदार रुपमा हलमा लागिरहेका छन् । बिहिबार र शनिबार दुबै फिल्मको व्यापार बिष्फोटक रह्यो ।
एकसाथ फिल्म जुधेपनि यी दुई फिल्मका टिम एकसाथ मिडियामा भने देखिएका थिएनन् । तर, शनिबार काठमाडौंको बीएसआर मुभिज अगाडि दुबै फिल्मका निर्देशक एकसाथ भेटिए ।
‘फर्की फर्की’का निर्देशक सुयोग गुरुङ र ‘पुजार सार्की’का निर्देशक दिनेश राउत मिडिया माझ घेरिए ।
दुबैले एक अर्कालाई बधाई दिँदै हात मिलाए । ‘फर्की फर्की’का निर्देशक सुयोग गुरुङले फिल्मलाई जुधाउने काम मिडियाले गरेको बताए । उनले भने–‘तपाइहरुले यस्तो भीड यस अगाडि देख्नुभएको थियो ? हाम्रो हराएको दर्शकहरु फेरि हलमा फर्किनुभएको छ । यसैले सबै जना खुशी हुन आवश्यक छ ।’
यता, फिल्म ‘पुजार सार्की’का निर्देशक दिनेश राउतले पनि यसलाई जुधाएको भन्दा पनि एकसाथ प्रदर्शनको रुपमा आएको भनेर बुझ्नु पर्ने बताए । उनले भने–‘यस अगाडि पनि २ वटा फिल्म एकसाथ रिलिजमा आएका थिए । यसलाई जुधाएको भनेर वुझ्न हुँदैन ।’
दुबै निर्देशकले दर्शकहरुलाई पनि दुबै फिल्म हेरेर खुशी मनाउन आग्रह गरेका छन् । बिहिबारबाट रिलिजमा आएको यी दुई फिल्मले बक्स अफिसमा धुम मच्चाइरहँदा दुबै फिल्मका निर्देशकहरू खुशी देखिए ।
प्रतिक्रिया