४० दिनमा सकियो ‘खुस्मा’को छायांकन

फिल्म ‘खुस्मा’को छायांकन ४० दिनमा सकिएको निर्माणपक्षले बताएको छ । पहिलो चरणको छायांकन मनाङमा गरेको निर्माणपक्षले दोस्रो चरणको छायांकन पूर्वी रुकुममा गरेको थियो । अब, फिल्मको एक गीतको मात्र छायांकन गर्न बाँकी छ ।

मगर समुदायको परिवेशमा निर्माण भएको फिल्मले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमको कथा भन्छ । एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा अशोक थापा मगरको लेखन तथा निर्देशन छ । यो फिल्ममा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन र बेतान मगरको लगानी छ ।

फिल्मका सह–निर्माता मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी हुन् । मोहन राई कार्यकारी निर्माता रहेको फिल्ममा दीपक बज्राचार्यको छायांकन छ । यो फिल्ममा नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरीको मुख्य भूमिका छ ।

फिल्ममा उपासना केन्द्रिय भूमिकामा छिन् । यी दुई बाहेक फिल्ममा माओत्से गुरुङ, खड्गबहादुर पुन, सुजाता राई, विजय सुब्बा, राजा थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय छ ।

फिल्ममा एसडी योगी र छान्जु पार्कको संगीत छ । यो फिल्मलाई असोजको ३ गतेबाट रिलिजमा ल्याउने तयारी निर्माणपक्षको छ ।