हलमा देखियो आर्यन, प्रदिप र पलको क्रेज
बिहिबार बिदाको दिनबाट रिलिजमा आएको फिल्म ‘पुजार सार्की’ले आक्रामक ओपनिङ गरेको छ । यो फिल्मले पहिलो दिनमा बम्पर व्यापार गर्दै गर्दा यसका कलाकारहरू हल–हलमा पुगेका थिए ।
विशेषगरि, काठमाडौंको अष्टनारायण हलमा फिल्मका मुख्य कलाकारहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह पुग्दा दर्शकको ठुलो भिडले स्वागत गरेको थियो । उनीहरुले पनि समर्थकहरूसँग तस्विर खिचाए ।
अष्टनारायण हलमा दर्शकको उच्च चापका बीच तीन नायकहरूले गाडीबाटै दर्शकसँग साक्षात्कार गरेका थिए ।
यी बाहेक फिल्मले मल्टिप्लेक्समा पनि आक्रामक व्यापार गरेको निर्माणपक्षले बताएको छ । फिल्मको प्रचार नदेखिएका नायक पल शाह बिहिबार भने अष्टनारायण हलमा पुगेर दर्शकसँग सेल्फी खिच्न व्यस्त देखिएका थिए ।
दिनेश राउतको निर्देशनमा विकास सुवेदीको लेखन रहेको यो फिल्ममा अन्जना बराइली र परीक्षा लिम्बु पनि मुख्य भूमिकामा छन् । सुभाष भुसाल फिल्मका निर्माता तथा संगीतकार हुन् ।
यो फिल्मले वि.सं २०४६ सालको कथा भन्छ । मानिसहरूले कसरी उपल्लो र तल्लो जातको नाममा विभेद गर्छन् भन्ने कथा फिल्ममा देखाइएको छ ।
यो फिल्ममा नायक प्रदीप खड्का हाबी छन् । प्रदीपको भूमिकाले सर्वत्र प्रशंसा पाइरहेको छ ।
प्रतिक्रिया