‘एक्लो’मा प्रदीप खड्कासँग सहकार्य गर्दै जेमी बेकन

निर्देशक प्रदीप शाहीले निर्देशन गर्ने फिल्म ‘एक्लो’मा नेटफ्लिक्स स्टार जेमी बेकनले काम गर्ने भएका छन् । हलिउड म्यागजिन डेडलाइनमा उल्लेख भए अनुसार उनले अभिनेता प्रदीप खड्कासँग सहकार्य गर्ने भएका हुन् ।

नेटफ्ल्क्सि सिरिज ‘व्हाइट लाइन्स’ र फिल्म ‘ब्राइटन’मा गरेको अभिनयका कारण चिनिएका उनी आफैंले पनि यो समाचारको ‘स्क्रिनसट’ आफ्नो इन्स्टाग्राममा पोस्ट गरेका छन् ।

‘इनटू द मिरर’ र ‘द फिस इज मी’ गरी दुई फिल्मको स्क्रिप्ट लेखेका जेमी स्क्रिप्ट राइटर समेत हुन् । उनले ‘द होर्डर’, बीबीसी ड्रामा ‘फादर ब्राउन’मा पनि अभिनय गरेका छन् ।

सन् २०३० सम्म एक घातक भाइरल महामारीका कारण मानिसले पृथ्वी ग्रह छोड्न बाध्य भएको कथा यो फिल्मले पेश गर्नेछ । र त्यसको ६० वर्षपछि ब्रिटिस अन्तरिक्ष यात्री (बेकन) आफ्नो टोलीसहित हिमालय क्षेत्रमा ल्यान्डिङ गर्छन् । र, पहाडहरुबीचको एक गुफामा लुकेको शहर पत्ता लगाउँछन्, जहाँ तिनीहरुले रहस्यमय व्यक्ति (प्रदीप) सँग भेट्छन्, जो हिमालय क्षेत्रको पौराणिक संरक्षक हो ।

अभिनयका अलावा बेकनले फिल्म निर्माण पनि गर्नेछन् । नेपाललाई एसियामा एउटा बलियो सुटिङ लोकेशनका रूपमा चर्चामा ल्याउने आशामा निर्देशक तथा अभिनेताले नेपाली र बेलायती फिल्म उद्योगसँग सम्बन्ध निर्माण गर्ने लक्ष्य राखेका छन् ।त्यस्तै, यो फिल्मका निर्देशक प्रदीप शाहीले स्टार जेमीको अभिनय रहने जानकारी गराउदा निकै खुशी लागेको बाटएका छन् । उनले यो फिल्ममा बेकनको प्रतिभा र उपस्थिति हुनुलाई अत्यन्त भाग्यशाली भएको बाटएका छन्। 


सन् २०२५ मा यो फिल्मको रिलिज लक्ष्य राखिएको छ। कार्यकारी निर्माता क्षितिज सुवेदी खत्री रहेको यो फिल्मको यतिबेला नेपालमै पहिलोपटक अन्तरिक्ष रकेट सुटको निर्माण भइरहेको छ । 

आगामी भदौबाट छायांकन सुरु हुने यो फिल्ममा प्रदीप र जेमीसहित बेनिशा हमाल, सुनिल थापा, विजय लामा, दीया पुन, कविता नेपाली, एवनराज उप्रेती लगायतको पनि अभिनय रहनेछ ।