असार ७ मा रुपाको ‘शिरफूल’

रुपा राणाको मुख्य भूमिका रहेको फिल्म ‘शिरफूल’ आगामी असार ७ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ। सोमबार निर्माणपक्षले फिल्मको एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।

त्यस्तै, यस अगाडि नै सार्वजनिक मिती तय गरिसकेको नायिका पूजा शर्मा अभिनीत ‘दान्भी’ र स्वर्गीय गायक भक्तराज आचार्यको बायोपिक फिल्म ‘आचार्य’ पनि प्रदर्शनमा आउँदैछन् । भने, ‘शिरफूल’ले पनि यही मितिमा फिल्म प्रदर्शन गर्ने घोषणा गरेको हो।

निर्देशक कमल एक्चै मगरको निर्देशनमा तयार भएको फिल्ममा नेपाली समाजमा छोरी चेलीलाई शिरको फूलको रुपमा लिने चलन भएकोले फिल्ममा छोरीलाई बिम्बको रुपमा बुझाउन खोजिएको निर्देशक मगरले बताए । आशीर्वाद पुन र माया छन्त्याल पुनको निर्माण रहेको फिल्ममा देवराज आले मगरको कथा र राज थापा र राजु युगिनको पटकथा तथा संवाद छ । 

फिल्ममा राजु थापा, डिपी खनाल र कृष्ण केसीको रचना, हरि लम्साल र देवराज आले मगरको संगीत, निरोज श्रेष्ठको छायांकन र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।

यो फिल्ममा रुपा राना, राज थापा, देवराज आले, विनिता थापा, सुनिल रोका, नमिता तामाङ, पूजा गदाल, लिला गुरुङ, नीता पुन, किरण मगर लगायतको अभिनय छ भने अभिनेत्री मरिष्का पोखरेल विशेष भूमिकामा छिन् ।