‘फर्की फर्की’मा जसिताको साथी बनेकी समृद्धि

जेठ १० गतेबाट प्रदर्शनमा आउने फिल्म ‘फर्की फर्की’बाट समृद्धि अर्यालले नेपाली फिल्ममा डेब्यू गर्दैछिन् । हङकङमा रहँदा उनको परिवारले अभिनेता अनमोल केसीको कुरा गर्थे । तर, उनको पहिलो फिल्म नै अनमोल केसी सँग भयो। 

उनी यो फिल्ममा जसिता गुरुङको साथीको भूमिकामा छिन् । उनी साथीको लागि जे पनि गर्न सक्ने किसिमको क्यारेक्टरमा छिन् । साथीको राम्रो होस् भनेर चिताउने क्यारेक्टर छ’, उनी भन्छिन्, ‘म रियल लाइफमा धेरै बोल्दिनँ । तर फिल्ममा अलिक फरक देखिएकी छु ।’ उनी अगाडि भन्छिन्,- ‘मेरो पहिलो सट नै जसितासँग थियो । केही नर्भस पनि थिएँ । तर आफूलाई सम्हाल्नुपर्छ भन्ने लागेपछि म सम्हालिएँ’, ।

रोहित अधिकारीको निर्माण र सुयोग गुरुङको लेखन तथा निर्देशन रहेको फिल्म समृद्धिका लागि रोचक छ । एकदिन उनी र उनकी आमा लाजिम्पाटमा थिए । सोहीबेला निर्माता अर्जुन कुमारले उनलाई निर्माता रोहित अधिकारीले एउटा क्यारेक्टरका लागि अडिसन मागिरहेको बताएपछि समृद्धिलाई ‘तिमी गर्छौ ?’ भनेर सोधेका थिए । ‘मलाई कस्तो फिल्म, कसको फिल्म भन्ने थियो । अर्जुन अंकलको भनाई अनुसार रोहित दाईलाई भेटेपछि उहाँले ‘टाइम ट्राभलको मुभी हो । क्यारेक्टर सेकेण्ड लिड छ’ भन्नुभयो । म जसिताको साथी भनेपछि यति ठूलो मौका हत्तपत्त कसैले पाउँदैन । मैले गरेको राम्रो हुन्छ भनेर अडिसन दिएँ अनि छानिएँ’, उनले भनिन् ।

सानैदेखि अभिनयप्रति रुची रहेकी उनी मुम्बईमा अभिनयको इन्स्टिीच्यूटमा तीन वर्ष अभिनय कक्षा लिएकी बताउछिन् । उनी भन्छिन्,- ‘तीन वर्षको अध्ययनपछि कसरी अगाडि बढ्ने, कसरी काम गर्ने भन्ने कुरा बुझ्ने मौका पाएँ । क्यामराको अगाडि कसरी अभिनय गर्ने भनेर बढी सिकें । क्यामरासँगै थिएटर अभिनय पनि सिकाउँथे । कलेजमा मैले ६ वटा छोटा फिल्ममा काम गरेको थिएँ’,।

नाम चलेका कलाकारसँग ठूलो ब्यानरमा अभिनय गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेकी समृद्धि आफ्नो कामबाट खुशी छिन् । यो फिल्ममा अनमोल केसी, जसिता गुरुङ, निर्मल शर्मा, लोकेन्द्र लेखक, सलोन बस्नेत, रवि काफ्ले र समृद्धि अर्याललगायतको अभिनय छ ।