साइग्रेसको 'अधुरो प्रेम'मा फिल्म निर्माण घोषणा

कथा वाचक साइग्रेस पोखरेलको अडियो नोभेल 'अधुरो प्रेम'मा फिल्म निर्माण हुने भएको छ। शनिवार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित 'वर्ड टुर विथ साइग्रेस'को ६०औँ शृङ्खलामा साइग्रेस आफैले फिल्मा निर्माणको घोषणा गरेका हुन् । 

शिशिर खातीले निर्देशन गर्ने यो इल्मको यसअघि फिल्म 'रङ्गेली' बनाएको कम्पनी प्लानेट थ्री फिल्म्सले निर्माण गर्नेछ। यो फिल्मको कार्यकारी निर्माताको रूपमा अर्जुन सुवेदी रहेका छन्। फिल्मको घोषणा गर्दा यसको थिम पोस्टर पनि सार्वजनिक गरिएको थियो। यस फिल्मको शीर्षक पनि अडियो नोभेलको नामबाट 'अधुरो प्रेम' नै राखिएको छ। 

आयोजित कार्यक्रममा फिल्म घोषणा अघि साइग्रेसले आफ्नो जीवन कथालाई फोटो प्रस्तुतिमार्फत देखाएका थिए। आफ्नो कथामा फिल्म बन्न लागेकोमा त्यसको जस दर्शकलाई दिँदै साइग्रेसले यो कथा आफ्नो मुटुको सबैभन्दा नजिकको रहेको बताउदै भने,- "यो सम्भव भएको पनि तपाईँकै कारणले हो। म केही छु भने यो तपाईँको प्रेमले हो। यो फिल्म निर्माण हुन लाग्नुको कारण पनि तपाईँ नै हो। मलाई शिशिरले भेटेर तपाईँको अधुरो प्रेम साह्रै नै मन पर्छ, म लैजान चाहन्छु भन्नुभयो। मलाई साह्रै नै डर लाग्यो। त्यो मेरो मुटुको सबैभन्दा नजिकको कथा, बरु अर्को दिन्छु नि भनेँ। उहाँले हुँदैन भन्दै 'मलाई त्यही कथा चाहिन्छ, मलाई जुन काममा चुनौती हुन्छ त्यही गर्न चाहन्छु भन्नुभयो।' मलाई अझै पनि डर थियो, मैले पाँच पटकको भेटपछि मात्र कथा दिएँ। अब तपाईँको प्रेमले सफल हुनेछ।"

निर्देशक शिशिरको यो डेब्यु फिल्म हो । पहिलो पटक फिल्म निर्देशन गर्न लागेका शिशिरले आफू साइग्रेसको आवाजको फ्यान मध्ये एक रहेको बताए। "मैले लगातार सात-आठ महिना देखी फिल्मको विषयलाई लिएर पिछा गरिरहेको थिएँ। धेरै पटक उहाँलाई भन्ने कोसिस गरेँ, तर सकिन। एक दिन अर्जुन सुवेदीले भेट्दै हुनुहुन्छ भन्ने थाहा पाएर उहाँलाई भेटाइदिन आग्रह गरेँ। भेटपछि मेरो सबै कुरा राखेँ, उहाँले मान्नुभयो। म आज तपाईँसामु जसरी बोलिरहेको छु, २०८२ सालमा फिल्म रिलिज पछि पनि बोल्ने हिम्मत हुने गरी फिल्म बनाउनेछु," शिशिरले भने। 

कार्यकारी निर्माता सुवेदीले यसअघि फिल्म 'रङ्गेली' निर्देशन गरेका थिए। वि.सं. २०८२ मा रिलिज लक्ष्य राखिएको यो फिल्मको कलाकार र अन्य टिमको विषयमा भने टुङ्गो लागिसकेको छैन।