६ वटा भिडियो पठाएपछि ‘पुजार सार्की’मा छानिएकी परीक्षा
जेठको १० गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘पुजार सार्की’ लाई लिएर नायिका परीक्षा लिम्बु निकै उत्साहित र विश्वस्त देखिएकी छिन् । यो फिल्ममा उनी ‘गौमाया’को भूमिकामा देखिदैछिन् ।
यो फिल्मको प्रचार सामाग्री सार्वजनिक भएपछि परीक्षा धेरै मेकरको नजरमा पनि परेकी छिन् । उनले, यो फिल्मका लागि अडिसनका ६ वटा भिडियो पठाएकी थिइन् । उनले भनिन्–‘उहाँहरुले मंगोलियन लुक्सकी यूवति खोजिरहनुभएको रहेछ । मैले सुरुमा एउटा भिडियो पठाएँ । फिल्ममा अनुबन्धित हुनु अघिसम्म ६ वटा भिडियो पठाएकी थिएँ ।’
उनलाई सुरुवातमा कास्कीकोट क्षेत्रका स्थानीयले बोल्ने लबज बोल्न गाह्रो भएको थियो । तर, फिल्मको टिमले भाषा सिकाएपछि उनलाई सहज भयो । यो फिल्ममा उनी नायक प्रदीप खड्काकी प्रेमिकाको रुपमा देखिएकी छिन् । आफूले नायक खड्काबाट धेरै कुरा सिकेको उनको भनाई छ । उनले भनिन्–‘प्रदिपजीबाट धेरै कुरा सिक्ने मौका पाएँ । उहाँ धेरै सहयोगी हुनु हुँदोरहेछ ।’
यो फिल्मले अन्तरजातिय कथालाई प्रस्तुत गरेको छ । यो विषयमा परीक्षा भन्छिन्–‘मैले फिल्ममा मगर समुदायको प्रतिनिधित्व गरेकी छु । हाम्रो समाजले अझै पनि जात भनेर हेरिरहेको छ । त्यो हेराइले उहाँहरूलाई मात्र नभएर उहाँहरूसँग जोडिएका सबै मान्छेलाई गाह्रो हुन्छ । प्रेम गर्ने जोडीलाई त यो मामलामा झनै गाह्रो हुँदोरहेछ ।’
परीक्षाले यसअघि फिल्म ‘छक्का पन्जा र जारी’मा काम गरिसकेकी छिन् । फिल्ममा काम गर्दा कलाकार निर्देशकसँग केही हदसम्म डराउनुपर्ने उनको तर्क छ । उनले, यसलाई निर्देशकप्रतिको सम्मानको रुपमा बुझेकी छिन् ।
उनले भनिन्–‘आफूले निभाएको चरित्रले न्याय दिन सक्यो, सकेन वा निर्देशकको भिजन अनुसार चल्न सकियो या सकिएन भनेर केही डराउनुपर्छ । निर्देशक दिनेश राउतको हकमा पनि मलाई त्यस्तै नै भयो । उहाँले एउटा राम्रो फिल्म बनाउनु भएको छ । यो फिल्मको विषयवस्तु र पात्र पनि राम्रो भएकाले चल्नेमा विश्वस्त छु ।’
परीक्षाले हरेक बर्गका दर्शकले यो फिल्म हेर्न सक्ने बताइन् । कुनै बेला सती प्रथा हटेको भन्दै अब जातीय विभेद पनि हट्नुपर्ने उनको भनाई छ ।
यो फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अन्जना बराइली लगायतका कलाकारको पनि अभिनय छ । दिनेश राउत निर्देशित फिल्ममा विकास सुवेदीको लेखन, सुभाष भुसालको संगीत तथा निर्माण छ ।
प्रतिक्रिया