‘पुजार सार्की’का दुई नायिका भन्छन्–‘फिल्मलाई दर्शकले मन पराउनुहुन्छ’

फिल्म ‘पुजार सार्की’लाई लिएर मुख्य दुई नायिका अन्जना बराइली र परीक्षा लिम्बु उत्साहित छन् । मेरो फिल्मसँग कुराकानी गर्ने क्रममा दुई नायिकाले फिल्मलाई लिएर उत्साह व्यक्त गरे । 

नायिका अन्जना बराइलीले आफूले फिल्मको कथा र निर्देशक दिनेश राउतलाई हेरेर फिल्म साइन गरेको बताइन् । उता, अर्की नायिका परीक्षा लिम्बुले पनि फिल्मको कथावस्तु र टिमले आकर्षित गरेको सुनाइन् । 

यो फिल्मले जातियता विरुद्धको कथा भन्छ । तर, फिल्ममा पूर्ण रुपमा मनोरञ्जन रहेको यी दुई नायिकाको भनाई छ । नायिका बराइलीले भनिन्–‘फिल्म हेर्दा जातियताको कथामा छ । तर, फिल्मले पूर्ण रुपमा मनोरञ्जन दिन्छ । हामी त सेटमा यति धेरै हाँसेका थियौं नी । दर्शकलाई कही पनि बोरिङ हुँदैन ।’

अन्जनाले आफूले करिअरमा अब अरु क्षेत्रको बारेमा केही पनि नसोचेको तर्क गरिन् । भनिन्–‘मैले यो क्षेत्र बाहेक अरु केही पनि सोचेको छैन । अब, मलाई यो क्षेत्र बाहेक अरु क्षेत्रमा गएर केही गर्न सक्छु जस्तो पनि लाग्दैन ।’

यता, नायिका परीक्षा लिम्बुले पनि यही क्षेत्रमा नै करिअर बनाउने उद्देश्यले आफू अगाडि बढेको बताइन् । उनले भनिन्–‘यो फिल्म हेरेपछि दर्शकले मेरो क्यारेक्टरलाई मन पराउनुहुन्छ । जुन खालको मेरो क्यारेक्टर छ, उसको भावना छ, त्यसलाई दर्शकले याद गर्नुहुन्छ । साथमा, फिल्मलाई पनि दर्शकले याद गर्नुहुन्छ ।’

दिनेश राउतको निर्देशनमा तयार भएको यो फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको पनि मुख्य भूमिका छ । जेठको १० गतेबाट यो फिल्म रिलिजमा आउँदैछ ।