‘वर एण्ड बधु’को सुटिङ सेटमा तारिफ पाइरहेका विवेक
काठमाडौंमा विगत केही दिनदेखि जारी फिल्म ‘वर एण्ड बधु’को सेटमा नव–नायक विवेक कर्माचार्यको कामको निकै प्रशंसा भइरहेको छ ।
पहिलो फिल्ममै विवेकले उत्कृष्ट काम गरेको भन्दै फिल्मका एक्सन निर्देशक हिमाल केसीले तारिफ गरे । उनले भने–‘यो फिल्ममा एउटा मात्र एक्सनको दृश्य छ । जसमा विवेकले गज्जबको काम गरेका छन् । उनी नेपाली फिल्मको एक्सनमा जम्न सक्छन् ।’
यता, निर्देशक मिलन चाम्सले पनि नव–नायकको तारिफ गरे । विवेकको हरेक पाटो उत्कृष्ट भएको भन्दै उनले यो बर्ष एउटा सम्भावित नयाँ नायक फिल्म क्षेत्रमा भित्रिने दाबी गरे ।
नायिका आँचल शर्माले पनि विवेकको कामको तारिफ गरिन् । उनले भनिन्–‘एक्सनमा गज्जब राम्रो काम गरेका छन् भन्ने सुनेको छु । मैले आफैले हेर्न पाएको छैन । तर, अरुको मुखबाट तारिफ सुन्दा खुशी लागेको छ ।’
विवेक पनि आफूले फिल्मका लागि निकै मिहिनेत गरिरहेको सुनाउँछन् । उनले, रोमानियाबाट नेपालसम्मका दृश्य खिच्दा मिहिनेत र रमाइलो दुबै भएको बताए । विवेकले फिल्ममा आफ्नो शरीर समेत शो गर्नेछन् । यसका लागि उनले खानेकुरामा नुन, चिनी र तेल प्रयोग गरेका छैनन् ।
यो फिल्ममा किरण केसी, कुसुम शर्मा, हिमेश पन्त, श्रृष्टी खड्का, गरिमा शर्मा लगायतका कलाकारको पनि अभिनय छ । फिल्मको प्रदर्शन मिति भने तय गरिएको छैन ।
प्रतिक्रिया