‘लण्डन टू पेरिस’को टिजरलाई कमजोर प्रतिक्रिया

घनश्याम लामिछानेको निर्देशनमा तयार भएको फिल्म ‘लण्डन टू पेरिस’को टिजर शुक्रबार रिलिज भयो । सार्वजनिक भएको डेढ दिनसम्म पनि यो टिजरलाई साढे २ लाख भ्यूज पनि मिलेको छैन । 

त्यो भन्दा पनि फिल्मको टिजरले दर्शकबाट निकै कमजोर प्रतिक्रिया पाएको छ । केही बोल्ड दृश्यका भरमा फिल्मको हाइप बनाउन खोज्दा निर्माणपक्षलाई धक्का लाग्ने देखिन्छ । 

फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, कविर खड्का, निश्चल खड्का र गरिमा शर्मा मुख्य भूमिकामा छन् । टिजरमा साम्राज्ञी र निश्चललाई नै प्रमुख स्थान दिइएको छ । नयाँ नायिका गरिमा शर्मालाई टिजरमा महत्व दिइएको छैन । साथै, उनको गेटअपमा समेत निर्माणपक्षले ध्यान नदिएको प्रष्ट हुन्छ । 
संवाददेखि अभिनयमा पनि साम्राज्ञी र नयाँ कलाकार निश्चल औषत देखिएका छन् । साम्राज्ञीले यस्ता प्रकृतिका फिल्म यसअघि पनि केही खेलिसकेकी छिन् । 

यो फिल्मको लण्डनमा छायांकन सम्पन्न भएपनि पेरिसमा भिसाको समस्या भएर हुन सकेको थिएन । निर्माणपक्षले भारतमा सेट लगाएर भारतीय प्राविधिकहरूलाई राखेर पेरिसको दृश्य खिचेको थियो । तर, फिल्मको यही दृश्य कमजोर देखिएको छ । लाइटिङको समस्या प्रमुख देखिएको छ । 

विदेशमा लगेर नायक–नायिकालाई रोमान्स गराउँदैमा फिल्म राम्रो बन्छ भन्ने भ्रमबाट यसको निर्माणपक्ष मुक्त हुन आवश्यक छ । अमित बस्नेतले निर्माण गरेको यो फिल्ममा अरोन बस्नेत, एरियाना बस्नेत र परी रानाको निर्माण छ । यो फिल्म जेठको २५ गते रिलिजमा आउँदैछ । फिल्ममा प्रदीप भारद्वाजको लेखन छ । एबी इन्टरनेशनलले यो फिल्मको निर्माण गरेको हो । 

दर्शकले पनि यो टिजरलाई निकै कमजोर प्रतिक्रिया दिएका छन् । विदेशमा गएर खिच्दैमा फिल्म उत्कृष्ट नहुने भन्दै कथावस्तु र प्रस्तुतिमा ध्यान दिन दर्शकले मेकरलाई आग्रह गरेका छन् । नव–नायक निश्चलको लुक्स र अभिनयले पनि दर्शकलाई प्रभावित बनाउन सकेको छैन ।