फिल्म क्षेत्रले केकीको स्टारडम र प्रकाशको गीतलाई स्विकार्न किन नसकेको होला ?

नायिका केकी अधिकारीको निर्माण तथा अभिनयमा तयार भएको फिल्म ‘बोक्सीको घर’ले बम्पर व्यापार गरिरहेको छ । रिलिजको छैटौँ दिनसम्म फिल्मले ५ करोड माथिको ग्रस कलेक्शन गरेको आँकडा सार्वजनिक भएको छ । 

तर, फिल्म क्षेत्रले भने केकी अधिकारीलाई स्टार मान्न तयार भएको देखिंदैन । फिल्म क्षेत्रमा लामो समय बिताएकी केकीको फिल्म चल्दा, उनको नाम र स्टारडमलाई ओझेलमा पारिएको छ । बरु, यतिबेला स्क्रिप्टमा रटान लगाउन थालिएको छ । स्क्रिप्ट बलियो भयो भने एउटा नायिकाको तस्विर मात्र राखेर पनि फिल्म चल्दो रहेछ भन्ने रटान फिल्म क्षेत्रमा सुरु भएको छ । 

एउटा नायकको फोटो मात्र राखेर फिल्म चल्दा उक्त नायकको स्टारडमको चर्चा हुने गर्दछ । तर, एउटा नायिकाको फोटो राखेर फिल्म चल्दा कथावस्तु राम्रो हुनुपर्ने तर्क फिल्म क्षेत्रमा सुनिन्छ । यसले, केकी अधिकारी कुनै स्टार नै होइनन् भन्ने भाष्य स्थापित गर्न केही फिल्मीकर्मी लागिपरेका छन् । 

यो फिल्म चल्नुको मुख्य कारण गायक तथा संगीतकार प्रकाश सपुतले तयार पारेको गीत हो । ‘वुझिन मैले’ बोलको गीत तयार नभएको भए यो फिल्म यो तहमा चल्दैनथ्यो । अधिकांश दर्शक हलमा यही गीत सुनेर नै आकर्षित भएका हुन् । तर, फिल्म क्षेत्रमा प्रकाशको गीतलाई क्रेडिट दिन पनि फिल्मीकर्मीहरु लोभ गरिरहेका छन् । 

फिल्म ‘बोक्सीको घर’को कथा औषत हो । यसको प्रस्तुति फिल्म भन्दा नाटकको शैलीमा बढी छ । तर, पनि दर्शकले फिल्म हेरिरहेका छन् ।

दर्शकले फिल्मको प्रतिक्रिया मिश्रित दिएका छन् । तर, पनि गीतको क्रेजकै कारण फिल्म हेर्न हलमा दर्शक पुगिरहेको देखिन्छ । तर, फिल्मीकर्मीहरु भने केकीको नाम, प्रकाश सपुतले तयार पारेको गीतलाई ओझेलमा पार्दै स्क्रिप्टको रटान दिइरहेका छन् । आखिर, फिल्मीकर्मीहरुलाई वास्तविक कुरा बोल्न किन गाह्रो हुने होला खै ?