‘बलिदान’का लागि भूमिपूजा गरेका सन्तोष कलाकार खोज्दै
यो बर्षको दशैंमा रिलिज गर्ने लक्ष्यका साथ निर्देशक तथा निर्माता सन्तोष सेन फिल्म ‘बलिदान’को तयारीमा धमाधम जुटिरहेका छन् । फिल्मका लागि मुख्य कलाकारमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा फाइनल गरिसकेका सन्तोषले इटहरीमा छायांकन सेट समेत निर्माण गरिरहेका छन् ।
यसैबिच, उनले स्क्रिप्ट माझ्ने र कथाका लागि आवश्यक सेट डिजाइन पश्चात् निर्माण कार्यको शुभारम्भ पनि गरिसकेका छन् । यसका लागि उनले इटहरीमै धर्ती माता, भूमि पूजा, प्रकृति पूजा, काली माता पूजा समेत गरेका छन् ।
अब उनै सन्तोष फिल्मका लागि दुई कलाकारको खोजीमा लागेका छन् । यसका लागि निर्माणपक्षले अडिसनको समेत आह्वान गरेको छ । फिल्मका लागि प्रमुख महिला कलाकार र एक पुरुष कलाकारको आवश्यकता परेको भन्दै अडिसन आह्वान गरिएको हो ।
२१ देखि ३२ बर्ष उमेरकी महिला र २८ देखि ५५ बर्ष उमेरका पुरुषको आवश्यकता परेको निर्माणपक्षले बताएको छ । यसका लागि, वैशाखको अन्तिमसम्म अडिसन दिन सकिनेछ । इटहरी, विराटनगर र जनकपुर क्षेत्रका कलाकारलाई प्राथमिकता दिने निर्माणपक्षले बताएको छ ।
प्रतिक्रिया