‘बोक्सीको घर’को प्रिमियरमा कसले के भने ?

भोलि शुक्रबारदेखि रिलिजमा आउन लागेको फिल्म ‘बोक्सीको घर’को बिहिबार बेलुकी प्रिमियर गरिएको छ । फिल्मको प्रिमियरमा कलाकार, प्राविधिक, निर्देशक, निर्माता, पत्रकारहरूको बाक्लो उपस्थिति थियो । नायिका केकी अधिकारीले निर्माण गरेको फिल्म भएका कारणले गर्दा पनि उनलाई  साथ दिन नायिकाहरू हल पुगेका थिए । 

सुलक्षण भारतीको निर्देशनमा तयार भएको यो फिल्मले एक महिलालाई कसरी बोक्सीको आरोप लगाइन्छ र यातना दिइन्छ भन्ने कथालाई प्रस्तुत गरेको छ । 

फिल्ममा केकी अधिकारी, सुपला सापकोटा, स्वेच्छा राउत, रमा थपलिया, सविन बास्तोला, सुलक्षण भारती लगायतका कलाकारको अभिनय छ । 

फिल्म हेर्न पुगेकी नायिका स्वस्तिमा खड्काले कथावस्तु र कलाकारको कामको प्रशंसा गरिन् । उनले, फिल्म हेरेर महिला वा पुरुषको रुपमा विभाजित गर्नु भन्दा पनि समाजको चेतना कस्तो छ भन्ने कुरालाई ध्यान दिनुपर्ने बताइन् । 



यस्तै, निर्देशक तथा निर्माता अशोक शर्माले पनि यो फिल्मको प्रशंसा गरे । उनले, यस्तो कथालाई दर्शकले स्विकार गर्न आवश्यक रहेको बताए ।

नायिका बेनिशा हमाल, रिमा विश्वकर्मादेखि निर्देशक ज्ञानेन्द्र देउजा सम्मले फिल्मको खुलेरै तारिफ गरेका थिए । 

१ घन्टा ५० मिनेट लामो यो फिल्मको ‘वुझिनँ मैले वुझाइदेउ कसैले’ गीत चर्चामा छ । यही गीतका कारण फिल्मको हाइप पनि उच्च छ ।