‘फर्की फर्की ‘पिज्जा’ होः सुयोग गुरुङ

निर्देशक सुयोग गुरुङको चर्चा अहिले चुलिएको छ । फिल्म ‘फर्की फर्की’को ट्रेलर रिलिज भएपछि सुयोगको चर्चा चुलिएको हो । एउटै शैलीको फिल्म हेरिरहेका दर्शकका लागि यो फिल्मले केही नयाँ कथा भनेको छ । यसैले, यसको ट्रेलरले २३ लाख भन्दा बढी भ्यूज पाइसकेको छ ।

पहिलो फिल्म ‘सानो मन’ बनाउँदा सुयोग फिल्म क्षेत्रमा खासै नोटिस भएका थिएनन् । तर, दोस्रो फिल्मको ट्रेलर रिलिज भएपछि उनी टक अफ दि टाउन बनेका छन् । 

निर्देशक सुयोग गुरुङले ‘फर्की फर्की’ ‘पिज्जा’ भएको बताए । मेरो फिल्मसँग कुराकानी गर्दै उनले भने–‘कसैलाई मःम मनपर्छ, कसैलाई दाल भात तरकारी मनपर्छ, कसैलाई पिज्जा मनपर्छ । हरेक किसिमको फिल्म बन्नुपर्छ । फर्की फर्की मीठो पिज्जा हो ।’

यो फिल्मबाट दर्शक निराश नहुने उनको भनाई छ । उनले भने–‘लभ स्टोरी, फेन्टासी फिल्मको दिन फेरि यो फिल्मले फर्काउँछ भन्ने आशा गरेको छु । अहिले हामीलाई नै थाहा छैन कि दर्शकलाई कस्तो फिल्म मनपर्छ । फेरि दर्शकलाई पनि थाहा छैन कि उहाँहरूलाई कस्तो फिल्म मनपर्छ । यसैले, हामीले जस्तो पस्कियो दर्शकहरुले त्यस्तै फिल्म हेरिरहनुभएको छ ।’

यो फिल्मलाई लिएर नायक अनमोल केसी पनि निकै उत्साहित छन् । फिल्मको पहिलो ड्राफ्ट तयार भएपछि सुयोगले अनमोललाई कथा सुनाएका थिए । अनमोलले कथा सुन्ने वित्तिकै आफू यो कथाका लागि तयार भएको जवाफ दिएका थिए ।

सुयोगले भने–‘अनमोल एकदमै राम्रो कलाकार हुन् । उनले, यो फिल्मका लागि निकै मिहिनेत पनि गरेका छन् । यो फिल्मको कथा सुन्ने वित्तिकै उनले आफ्नै कथा जस्तो महशुश गरेका थिए । अहिले टिमवर्कका कारण काम पनि निकै राम्रो बनेको छ ।’

सुयोगका अनुसार, यो फिल्मले दर्शकलाई निराश बनाउँदैन । फिल्मको ट्रेलर भन्दा फिल्म अझै उत्कृष्ट भएको प्रतिक्रिया आफूले केही फिल्म हेर्ने फिल्मीकर्मीबाट पाएको सुयोगको भनाई छ । 

अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याल लगायतका कलाकारको अभिनय रहेको फिल्मलाई रोहित अधिकारीले निर्माण गरेका हुन् । जेठ १० गतेबाट यो फिल्म रिलिजमा आउँदैछ ।