रञ्जना हलमा ‘अगस्त्य’ले मनायो ५१ दिन

फागुनको १८ गतेबाट रिलिजमा आएको फिल्म ‘अगस्त्यः च्याप्टर १’ले काठमाडौंको न्यूरोडस्थित रञ्जना सिनेप्लेक्समा शनिबार ५१ दिन मनाएको छ । 
उक्त अवसरमा फिल्मका निर्देशक सौरभ चौधरी, कलाकार नाजिर हुसेन, निर्माता प्रकाश मल्ल र अनिश तामाङले दर्शकसँग साक्षात्कार गर्दै खुशियाली साटेका थिए । 

निर्देशक चौधरीले आलोचना र तारिफका बिचमा फिल्मले ५१ दिन मनाएको भन्दै खुशी व्यक्त गरे । उनले, फिल्मले ५१ दिन मनाउनु सफलताको मापदण्ड हो या होइन भन्दै प्रश्न पनि गरे ?

उनका अनुसार, सन् २०२५ मा नयाँ फिल्म लिएर दर्शकमाझ आउने तयारी भइरहेको छ । यस्तै, सन् २०२६ मा ‘अगस्त्यः च्याप्टर २’ रिलिज गर्ने जानकारी दिए । 

सो अवसरमा बोल्दै नायक नाजिर हुसेनले दर्शकले दिएको मायाका कारण यो संभव भएको बताए । सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरि लगायतका कलाकारको अभिनय रहेको फिल्मको पहिलो हाफले आलोचना भोगेको थियो भने दोस्रो हाफले प्रशंसा पाएको थियो ।

प्रकाश मल्ल, अनिश तामाङ र विनोद पौडेलको निर्माण रहेको फिल्मका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन् । फिल्ममा संजय लामाको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन र एसडी योगीको संगीत छ ।