बक्स अफिस आँकडा सार्वजनिक नगर्न बोर्डलाई चर्को दबाब

चलचित्र विकास बोर्डले यो बर्ष रिलिजमा आएका फिल्महरूको बक्स अफिस रिपोर्ट सार्वजनिक गर्ने तयारी गरेको छ । यो बर्षको असार महिनापछि रिलिज भएका फिल्महरूको बक्स अफिस रिपोर्ट बोर्डले सार्वजनिक गर्न सकेको छैन । तर, विकास बोर्ड सदस्य रवि अधिकारीले केही दिन अगाडि सामाजिक संजालमार्फत केही दिनमै बक्स अफिस रिपोर्ट सार्वजनिक गर्ने तयारी गरिएको बताएका थिए । 

बोर्डले बक्स अफिस आँकडा सार्वजनिक गर्ने तयारी गरेपछि विभिन्न संघसंस्था, वितरक, निर्माताहरूले चर्को दबाब दिएको वुझिएको छ । मेरो फिल्मसँग विशेष स्रोतले भन्यो–‘बोर्डले आधिकारिक डाटा सार्वजनिक गर्ने तयारी गरेको छ । तर, बक्स अफिस आँकडा सार्वजनिक गरेको खण्डमा बोर्डसँगको सम्बन्ध नै बिग्रने भन्दै चेतावनी आइरहेको छ । यसैले, बोर्ड आँकडा सार्वजनिक गर्ने वा नगर्ने भन्नेमा अन्योलमा छ ।’

बोर्ड अध्यक्ष भुवन केसी पनि चर्को दबाबमा परेका छन् । विशेषगरि, बक्स अफिस आँकडा सार्वजनिक गर्दा प्रदर्शक, वितरक र निर्माता नै खुशी नहुने अवस्था आएकाले कसका लागि बाहिर ल्याउने भन्दै बोर्डमा चर्को दबाब परेको वुझिएको छ । 

विकास बोर्डले बक्स अफिस आँकडा सार्वजनिक गर्न थालेपछि प्रदर्शक, वितरक र केही निर्माता अत्तालिएका थिए । फिल्मको आँकडा बढाएर भन्न माहिर मानिएका वितरक र निर्माता वास्तविक आँकडा सार्वजनिक हुन थालेपछि तनावमा थिए । बोर्डमा यही कुराको दबाब बढेपछि बक्स अफिस आँकडा सार्वजनिक हुन छाडेको थियो । तर, बोर्डले बर्षभरी रिलिजमा आएका फिल्मको आँकडा सार्वजनिक गर्ने बताएपछि चौतर्फी दबाब पर्न थालेको हो ।