प्रिमियरमा ‘डिग्री माइला’लाई कसले के भने ?

शुक्रबारबाट रिलिजमा आएको फिल्म ‘डिग्री माइला’को बिहिबार बेलुकी काठमाडौंको बीग मुभिजमा भव्य प्रिमियर गरिएको छ । फिल्मको प्रिमियरमा ९ सय मानिसरुको उपस्थिति रहेको निर्माणपक्षले बताएको छ । 

फिल्म हेर्नका लागि पुगेका अधिकांशले यसको विषयवस्तुले मन छोएको बताए । नायक दयाहाङ राई र नायिका आँचल शर्माले पहिलो पटक एकसाथ काम गरेको यो फिल्मले अहमताले भरिएको एउटा पात्रको कथा भन्छ । फिल्म हेर्न पुगेकी नायिका मिरुना मगरले दया र आँचलको जोडी, कथावस्तु मन परेको बताइन् । 

उनले प्रिमियरमा भनिन्–‘फिल्म मलाई एकदमै मन पर्यो । सुरुमा हँसाउने र अन्तिममा सोच्न वाध्य बनाउने फिल्म बनेको छ । नेपाली युवाहरूले सामना गरिरहेको कथावस्तुलाई नै फिल्मले देखाएको छ ।’ उनले, नायिका आँचल शर्माको कामको पनि खुलेरै तारिफ गरिन् ।

फिल्म हेरेका अधिकांशले नायक दयाहाङ राईले निर्वाह गरेको भूमिका रुचाए । दयाहाङबाट यस्तै खालको भूमिकाको अपेक्षा रहेको कलाकार श्रृजना सुब्बाले बताइन् । 

नायक शिव श्रेष्ठ, संगीतकार चेतन सापकोटा, निर्देशक दिनेश डीसी लगायतले पनि देशको समसामयिक विषयवस्तुलाई जोडेर रामबाबुले मनोरञ्जनसँगै शिक्षा दिने फिल्म बनाएको बताए । 

फिल्म हेर्नका  लागि नायिका प्रियंका कार्की, नायक आयुष्मान देशराज जोशी, मुकुन भुसाल, निर्देशक दीपाश्री निरौला, कलाकार निर्मल शर्मा, विल्सन विक्रम राई, नरेन खड्का लगायत पुगेका थिए । 

आजबाट रिलिजमा आएको यो फिल्मले बिहानी शोजमा सुखद सुरुवात गरेको छ । रामबाबु गुरुङ निर्देशित फिल्मले देशमा डिग्री पढेर पनि बेरोजगार रहेका यूवाहरुको कथालाई प्रस्तुत गर्दछ ।