‘बेहुली फ्रम मेघौली’को छायांकन सकिएपछि भावुक निर्मात्री स्वस्तिमा

नायिकाबाट पहिलो पटक निर्मात्री बनेकी स्वस्तिमा खड्का निर्मित फिल्म ‘बेहुली फ्रम मेघौली’को छायांकन सकिएको छ । यो फिल्मको छायांकन ३४ दिनमा सहज रुपमा सकिएपछि स्वस्तिमा भावुक बनेकी छिन् ।

सामाजिक संजालमा उनले आफ्नो अनुभव शेयर गर्दै लेखेकी छिन्–‘नयाँ यात्रामा पहिलो पाइला चाल्नुअघि असंख्य प्रश्नले घेर्छन् । सफलता र असफलताको बोझले पहिलो पाइला असाध्यै गह्रौं हुन्छ । तर, जब पाइलाले गति लिन्छ, ती सबै बोझहरु हलुका लाग्न थाल्छन् । झन्, त्यो यात्रामा हिँड्ने असल सहयात्री हुने हो भने गन्तव्यमा पुगेको पत्तै हुन्न ।’

स्वस्तिमाले फिल्मका दुई निर्देशक आकाश बराल र सजन काफ्ले, कार्यकारी निर्माताद्धय शंकर पाण्डे र फिरोज खड्का, फिल्मका सबै कलाकार र प्राविधिकका कारण आफूलाई निर्मात्री हुन गाह्रो हुन्छ भन्ने भान नभएको उल्लेख गरेकी छिन् । 

साथै, उनले आफ्ना हरेक निर्णय र कदममा साथ दिएर आफूलाई पूर्ण बनाएको भन्दै निश्चल बस्नेतलाई पनि धन्यवाद दिएकी छिन् । आउँदो बर्षको दशैंमा प्रदर्शन मिति तोकेर यो फिल्मको छायांकन सुरु गरिएको थियो । स्वस्तिमाले पहिलो पटक निर्मात्री बन्दा उत्साह र डर दुबै भएको बताएकी थिइन् । तर, अहिले फिल्मको छायांकन सकिएपछि भने उनी फिल्म छायांकन यति सहज हुने रहेछ भन्ने सोचमा पुगेकी छिन् । 

नायिकाको रुपमा सफल भइसकेकी स्वस्तिमा अब निर्मात्रीमा पनि सफल हुने दौडमा छिन् । यो फिल्म चलेको खण्डमा उनको परिचयमा नयाँ उपनाम थपिनेछ ।