के आफूले गरेका भूमिकाबाट सन्तुष्ट छन् आँचल ?

नायिका आँचल शर्माले आफ्नो ९ बर्ष लामो करिअरमा काम गरेका सबै फिल्मबाट आफू सन्तुष्ट नरहेको बताएकी छिन् । मेरो फिल्मसँग कुराकानी गर्दै आँचलले सबै फिल्मबाट सन्तुष्ट हुन नसके पनि आफूले धेरै कुराहरू सिकेको बताइन् । 

आँचलले भनिन्–‘समय अनुसार त्यो ठिक थियो । जुन समयमा मैले त्यो पाएँ, त्यो चिजहरूले नै मलाई आजको दिनमा राम्रो फिल्महरूको अफर आइरहेको छ । मलाई आफ्नो करिअर यत्रो वर्षसम्म अगाडि जान सक्दैन होला जस्तो लाग्थ्यो । तर, आज मलाई ‘डिग्री माइला’को अफर आएको छ, त्यो हिजोका फिल्महरुकै कारणले हो ।’

के तपाइलाई आफूले काम गरेका कुनै भूमिका वा फिल्मबाट पश्चाताप छैन भन्ने प्रश्नमा आँचलले भनिन्–‘अलीअली त भइहाल्छ । तर, त्यो भोगाई हो । भोगाई मीठो नै हुन्छ । तीतो भएपनि पछि त्यो मीठो नै हुन्छ ।’

आँचल, आफूले सिक्ने वा वुझ्नै काम आफैले गर्ने बताउँछिन् । आँचलको फिल्मी करिअर अहिले बदलिएको छ । उनी, यसको कारण आफै मान्छिन् । उनले भनिन्–‘म आफैं हो । मेरो संघर्ष, मैले भोगेका भोगाइहरू र मैले आफ्ना लागि गरेको जोखिमपूर्ण काम नै हो ।’

आँचल अभिनित फिल्म ‘डिग्री माइला’ भोलि शुक्रबारदेखि रिलिजमा आउँदैछ । आँचलले यो फिल्म आफ्ना लागि महत्वपूर्ण रहेको सुनाइन् । साथै, फिल्ममा आफ्नो भूमिका पनि महत्वपूर्ण भएको  उनको भनाई छ । 

उनको अनुसार, गफाडी माइलालाई सम्हाल्ने काम यो फिल्ममा उनले गरेकी छिन् । जसकाकारण, हलबाट निस्कँदा दर्शकले उनलाई सम्झनेछन् ।