अब साढे ३ करोड कमाए ‘महाजात्रा’ले तोड्नेछ ‘जारी’को रेकर्ड

चैत्रको ९ गतेबाट रिलिजमा आएको फिल्म ‘महाजात्रा’ले बक्स अफिसमा बम्पर व्यापारलाई कायमै राखेको छ । फिल्म रिलिजको तेस्रो सातामा पनि यसको व्यापार आक्रामक छ ।

दुई सातामा १० करोड १४ लाख ग्रस कलेक्शन गरेको फिल्मले तेस्रो सातामा पनि करिब ४ करोडको व्यापार गरेको निर्माणपक्षले मेरो फिल्मलाई जानकारी दिएको छ । निर्माणपक्षका अनुसार, फिल्मको व्यापार तेस्रो सातासम्म १४ करोड ग्रस पुग्नेछ । 

यो फिल्मलाई तेस्रो सातामा दर्शकले झनै उत्साहजनक रुपमा साथ दिइरहेका छन् । यसैले, फिल्मले नयाँ नयाँ रेकर्डहरु बनाइरहेको छ । फिल्म ‘महाजात्रा’बाट निर्देशक प्रदीप भट्टराईले ‘शत्रु गते’ले कमाएको १४ करोडको व्यापारको आँकडा तोड्ने पक्का भएको छ । साथै, विपिन कार्की, वर्षा राउतदेखि हरिवंश आचार्यसम्मको करिअरमा सर्वाधिक ग्रस कलेक्शन गर्ने फिल्म ‘महाजात्रा’ बन्ने पक्का भएको छ । 

यो बर्ष सर्वाधिक कमाई गर्ने फिल्ममा ‘जारी’ पर्दछ । यो फिल्मले करिब साढे १७ करोड ग्रस कलेक्शन गरेको थियो । अब, ‘महाजात्रा’लाई यो रेकर्ड ब्रेक गर्नका लागि साढे ३ करोड माथिको ग्रस कलेक्शन आवश्यक छ । फिल्मको व्यापारिक रफ्तार हेर्दा यो रेकर्ड ब्रेक हुने देखिन्छ । 

नयाँ बर्षमा पनि फिल्मले हलमा राम्रो शोज पाएको छ । दर्शकको बाक्लो उपस्थिति झनै बढेका कारण यो फिल्म अझै केही सातामा हलमा चल्नेछ । जसको फाइदा यसको व्यापारिक आँकडामा हुनेछ । 

फिल्मले नेपाली बक्स अफिसमा मात्र होइन, ओभरसिजमा पनि आक्रामक कमाई गरिरहेको छ । यो फिल्मले यसअघि वितरण गरेका केही फिल्मबाट डुबेका वितरकलाई जुरुक्कै उठाइदिएको छ । साथमा, विदेशमा रहेका नेपालीहरूलाई नेपाली फिल्मप्रतिको भरोसा फर्काइदिएको छ । जसको फाइदा, आगामी दिनमा रिलिज हुन लागेका नेपाली फिल्मले लिन सक्नेछन् । 

फिल्म ‘महाजात्रा’को टिमले वि.सं २०८२ सालको दशैंमा नयाँ फिल्म रिलिज गर्ने घोषणा गरिसकेको छ ।