बर्ष २०८० लाई फर्केर हेर्दाः उपेन्द्रको सरप्राइज, आफ्नै रेकर्डको पछि–पछि प्रदीप

वि.सं २०८० सालले नेपालीहरूबाट बिदा लिन अब ३ दिन मात्र बाँकी छ । यो बर्ष नेपाली फिल्मका लागि सन्तोषजनक नै रह्यो । रिलिजमा आएका ५० बढी फिल्ममा ६ वटा नाफामा गए । दुई वटा फिल्म ब्लकबस्टर भए । बाँकी रहेका ४ वटाले नाफा कमाए । 

यो बर्ष रिलिजमा आएका फिल्ममध्ये अधिकांश फिल्मबाट निर्देशकहरू चिप्लिए । नाम कहलिएका निर्देशकहरूले बजारमा आफ्नो बलियो उपस्थिति जनाउन सकेनन् । तर, विगत केही बर्षदेखि फिल्म क्षेत्रमा लिड गर्दै आएका निर्देशकहरू नै यो बर्ष हाबी भए । 

यो बर्ष निर्देशनमा डेब्यू गरेका उपेन्द्र सुब्बाले सबैलाई सरप्राइज दिए । उनले निर्देशन गरेको पहिलो फिल्म ‘जारी’ले बक्स अफिसमा १७ करोड माथिको ग्रस कलेक्शन गर्यो । यो रेकर्ड आजका दिनसम्म कुनै पनि फिल्मले यो बर्ष तोड्न सकेका छैनन् ।

यो बर्षको सर्वाधिक ग्रस कलेक्शन गर्ने फिल्मको रेकर्ड बनाउँदै उपेन्द्रले फिल्म क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाए । ब्लकबस्टर फिल्म लेख्दै आएका उनले आफूलाई निर्देशनमा पनि अब्बल साबित गरे । उनै, उपेन्द्रले निर्देशन गरेको नयाँ फिल्म ‘मनसरा’ वैशाखको २१ गतेबाट रिलिजमा आउँदैछ । 

यो बर्ष रिलिजमा आएका फिल्ममा अर्को ब्लकबस्टर ‘महाजात्रा’ पनि भयो । दुई सातामा १० करोड १४ लाख(निर्माताले दिएको आँकडा)को व्यापार गर्दै फिल्मले नयाँ इतिहास रचिरहेको छ । फिल्म शुक्रबारबाट चौथो हप्तामा प्रवेश गर्दैछ । व्यापारको रफ्तार भने उस्तै छ । नयाँ बर्षमा पनि यो फिल्मले दर्शकको साथ पाउने देखिएको छ । 

यो फिल्मबाट प्रदीप भट्टराईले आफूलाई ‘बक्स अफिस किङ’ निर्देशकको रुपमा अगाडि उभ्याएका छन् । उनले, यसअघि निर्देशन गरेका ४ वटा फिल्मले बक्स अफिसमा बम्पर व्यापार गरिसकेका छन् । उनी, अहिले आफूले फिल्म ‘शत्रु गते’बाट बनाएको १४ करोडको व्यापारको रेकर्डलाई नै पछ्याइरहेका छन् । ‘महाजात्रा’ले ‘शत्रु गते’को रेकर्ड तोड्ने प्रबल संभावना छ । 

यो बर्ष फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’ रिलिज भयो । फिल्म हिट भएपनि समीक्षा भने निकै कमजोर पायो । दर्शकले पनि फिल्मको दोस्रो  सिरिजलाई अपेक्षा गरे जस्तो पाएनन् । फिल्म हिट दिएर पनि निर्देशक दीपेन्द्र के खनालले दर्शकको चित्त बुझाउन भने सकेनन् । बक्स अफिसमा ब्लकबस्टर व्यापार गर्ने आशा गरिएको यो फिल्मले हिटमा मात्र चित्त बुझायो । 

फिल्म ‘दिमाग खराब’लाई पनि दर्शकले रुचाए । निर्देशकको रुपमा निश्चल बस्नेत सफल साबित भए । फिल्मले समीक्षा भने औषत मात्र पाएको थियो । तर, निश्चलले आफूलाई कमर्सियल निर्देशकको रुपमा फेरि एक पटक प्रमाणित गरेका छन् । 

फिल्म ‘नांगो गाउँ’ पनि हिट भयो । निर्देशक दीपेन्द्र लामाले हिट निर्देशकको ट्यागलाई निरन्तरता दिए । फिल्मले समीक्षा मिश्रित पायो । तर, फिल्म हिट हुँदा दीपेन्द्रको हातमा फिल्मको अफर अझै बढेको छ । उनी अब नयाँ फिल्म ‘दुःखी आत्मा’को निर्देशन गर्दैछन् । 

फिल्म ‘परदेशी २’ले पनि बक्स अफिसमा सुखद कमाई गर्यो । तर, फिल्मको समीक्षा निकै नै कमजोर आयो । नारायण रायमाझीले आफ्नो फिल्म भन्ने शैलीलाई फेर्न सकेनन् । तर, दर्शकले भने फिल्मको कथालाई मन पराउँदा रायमाझी सफल भए । 

यो बर्ष निर्देशक सौरभ चौधरीको पनि निकै चर्चा भयो । फिल्म ‘अगस्त्य’को व्यापार अपेक्षित नभएपनि निर्देशक चौधरीको कामको आलोचना र प्रशंसा दुबै भयो । यसैले, आगामी दिनमा उनले आफूलाई सफल निर्देशकको रुपमा उभ्याउन सक्छन् । 

नेपाली फिल्म क्षेत्रमा यो बर्ष समिक्षागत रुपमा गज्जब भन्ने फिल्महरू निकै नै कम भए । फिल्म ‘हल्कारा’ले समीक्षा निकै सुखद पाएको थियो । 

आउँदो बर्ष निर्देशकहरूलाई अझै चुनौती छ । विशेषगरि, केही निर्देशकको नामले मात्र यो बर्ष फिल्म क्षेत्र धानेको देखिन्छ । यसैले, आउँदो बर्ष निर्देशकहरूले फिल्म निर्देशनमा अझै बढी होमवर्क गर्नुपर्ने देखिन्छ ।