‘डिग्री माइला’ : रामबाबुलाई ‘कबड्डी’को ह्याङबाट बाहिरिने अवसर

चैत्रको ३० गतेबाट फिल्म ‘डिग्री माइला’ रिलिजमा आउँदैछ । यो फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । 

फिल्ममा दयाहाङ राई, आँचल शर्मा, विजय बराल, बुद्धि तामाङ, पुस्कर गुरुङ, कमलमणी नेपाल लगायतका कलाकारको अभिनय छ । फिल्म ‘डिग्री माइला’को बूकिङ अधिकांश हलमा खुलिसकेको छ । 

यो फिल्मले बक्स अफिसमा बम्पर व्यापार गर्ने आँकलन आम फिल्मीकर्मीको छ । यसैले, पनि यो फिल्मको व्यापारमाथि धेरैको नजर छ । 

फिल्मका निर्देशक रामबाबु गुरुङलाई ‘कबड्डी’को ह्याङबाट बाहिर आउन नसकेको आरोप लाग्दै आएको छ । केही समय अगाडि एक कार्यक्रममा रामबाबुले आफू नायक दयाहाङ राई र कबड्डीको ह्याङबाट बाहिर आउन नसकेको स्विकार पनि गरेका थिए । 

रामबाबुका फिल्मको व्यापार हेर्ने हो भने पनि ‘कबड्डी’को अगाडि अरूको फिक्का छ । यसैले, यसपटक उनलाई ‘कबड्डी’को ह्याङबाट बाहिरिने अवसर आएको छ । 

फिल्ममा कलाकारको लाइनअप हेर्ने हो भने पनि आँचल शर्मा बाहेक मुख्य कलाकारहरू ‘कबड्डी’ सिरिजकै छन् । फिल्मको ट्रेलरमा समावेश संवादहरूले दर्शकको मन जितिरहँदा अरु कथाको बारेमा केही पनि खुलाइएको छैन । 

अर्कोतिर, रामबाबुले निर्देशन गरेका फिल्ममध्ये बक्स अफिसमा ‘कबड्डी’ सिरिज जस्तो लोभलाग्दो व्यापार अरूको छैन । यसैले, रामबाबुलाई ‘कबड्डी’ सिरिजका फिल्म भन्दा अन्य फिल्म चलाउन नसकेको आरोप पनि छ । फिल्म ‘डिग्री माइला’ले लोभलाग्दो व्यापार गर्यो भने रामबाबु बक्स अफिसको आरोपबाट  पनि मुक्त हुनेछन् ।