फिल्म स्टूडियोको नाम फिल्म क्षेत्रको नाममा राख्ने तयारीमा विकास बोर्ड

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले आफ्नो कार्यकाल सकिन केही महिना मात्र बाँकी रहेको समयमा दुई वटा कामलाई विशेष प्राथमिकतामा राखेका छन् । 

चलचित्र विकास बोर्डले पहिलो पटक फिल्म क्षेत्रको नाम के राख्ने भन्ने विषयमा छलफल अगाडि बढाएको छ । विकास बोर्डले छलफल अगाडि बढाउँदै फिल्म क्षेत्रको नाम टुंग्याउने तयारी थालेको हो । 

यता, चलचित्र विकास बोर्डले दोलखामा २ हेक्टरको जग्गा समेत पाइसकेको छ । जहाँ, फिल्म स्टुडियो बनाउने तयारी विकास बोर्डको छ । 

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले आफ्नो कार्यकाल सकिनु अगाडि यी दुई कामलाई मूर्त रुप दिने तयारी थालेका छन् । बोर्ड अध्यक्ष केसी फिल्म स्टुडियोको नाम  फिल्म क्षेत्रको नाममा राख्न चाहन्छन् । यसैले, उनी फिल्म स्टुडियोको जग सुरु गर्ने र नामाकरण पनि गर्ने योजनामा अगाडि बढेका हुन् । 

नेपाली फिल्म क्षेत्रलाई ‘कलिउड’ भन्ने गरिन्छ । तर, विश्व बजारले कलिउड भन्ने बित्तिकै नेपाली फिल्म क्षेत्रलाई चिन्दैन । यसैले, फिल्म क्षेत्रको नामले पनि विश्वमा देशको नाम चिनिने कुरामा भुवन केसी स्पष्ट छन् । यही कारणले गर्दा, उनी फिल्म क्षेत्रको नाम जुराउने र स्टुडियोको नामाकरण गर्ने तयारीमा लागेका हुन् । 

अध्यक्ष केसीको कार्यकाल साउन महिनामा सकिँदैछ ।