‘रावायण’का लागि एक्सन सिक्दैछन् पल शाह

नेपाली फिल्म क्षेत्रमा पल शाहले चकलेटी नायकको रुपमा आफूलाई दर्शकमाझ चिनाएका छन् । पल शाहले अभिनय गरेका अधिकांश फिल्ममा उनलाई लभरब्वाइको भूमिकामा देख्न पाइन्छ । ‘नाई नभन्नु ल ४ देखि म यस्तो गीत गाउँछु २ हुँदै मायाबी’ सम्म हेर्दा पनि पल शाहको गेटअप लभरब्वाइको रुपमा नै छ । 

तर, फिल्म ‘रावायण’मा भने पलले आफूलाई एक्सन हिरोको रुपमा पनि चिनाउने कोशिश गरिरहेका छन् । सुदर्शन थापाको निर्देशनमा पूजा शर्माले निर्माण गर्न लागेको यो फिल्मको छायांकन वैशाख महिनामा सुरु हुनेछ । 

यो फिल्मका लागि विगत केही दिनदेखि पल शाहले एक्सन सिकिरहेका छन् । यही फिल्ममा द्धन्द्ध निर्देशन गर्न लागेका श्री श्रेष्ठसँग उनले एक्सन सिकिरहेका हुन् । 

सामाजिक संजालमा निर्माण टिमले पोस्ट गरेको भिडियोमा पनि पलले आफूलाई एक्सनमा अब्बल बनाइसकेको देख्न सकिन्छ । 

यो फिल्ममा पल शाह दोहोरो भूमिकामा देखिदैछन् । फिल्ममा पल शाह,  पूजा शर्मा लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।