‘वर एण्ड बधु’मा कुसुम शर्माको प्रवेश

मिलन चाम्सको निर्देशनमा तयार भइरहेको फिल्म ‘वर एण्ड बधु’को दोस्रो चरणको छायांकन वैशाखको ३ गतेबाट सुरु हुने भएको छ । निर्देशक मिलन चाम्सले मेरो फिल्मसँग कुरा गर्दै वैशाखको ३ गतेबाट बाँकी रहेको छायांकन सुरु गर्ने जानकारी दिए । 

यो फिल्ममा नायिका आँचल शर्मा र नव–नायक विवेक कर्माचार्यको मुख्य भूमिका छ । फिल्मको पहिलो चरणको छायांकन रोमानियामा गरिएको थियो । 

यसैबिच, यो फिल्ममा अब मोडल कुसुम शर्माको प्रवेश भएको छ । कुसुमलाई महत्वपूर्ण भूमिकाका लागि अनुबन्धित गरिएको निर्देशक चाम्सले जानकारी दिए । 

म्युजिक भिडियोमा सफल भएपछि फिल्ममा पाइला राख्न उत्साहित रहेकी कुसुमका लागि यो फिल्म महत्वपूर्ण हुने देखिएको छ । उसो त कुसुमले फिल्म ‘सञ्जिवनी’मा मुख्य नायिकाको रुपमा काम गर्ने पक्का भएको थियो । तर, फिल्मको छायांकन सुरु हुन नसकेपछि उनी निराश बनेकी थिइन् । तर, अब ‘वर एण्ड बधु’मा महत्वपूर्ण भूमिकामा अनुबन्धित भएपछि उनी उत्साहित देखिएकी छिन् । 

फिल्मको दोस्रो सेड्यूलमा नायक कर्माचार्यको एक्सनको दृश्य पनि समावेश गरिनेछ । फिल्ममा हिमाल केसीले एक्सन कोरियोग्राफी गर्नेछन् । सुदिप बराल फिल्मका छायांकार हुन् । फिल्ममा श्रृष्टी श्रेष्ठ र हिमेश पन्तको पनि मुख्य भूमिका छ । 

कमेडी लभ स्टोरी फिल्मलाई एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा तयार पारिएको हो । फिल्मका कार्यकारी निर्माता डाक्टर अमित रिजाल हुन् । फिल्मले विवाहको संकृतीलाई पर्दामा देखाउनेछ । फिल्मको प्रदर्शन मिति तय गरिएको छैन ।