वर्षालाई दुबै हातमा लड्डु

नायिका वर्षा राउत फिल्म ‘मेयर’को छायांकनमा व्यस्त छिन् । यो फिल्म पनि उनका लागि महत्वपूर्ण छ । फिल्ममा उनी मेयरकी श्रीमतीको भूमिकामा छिन् । 

वर्षाका लागि यो बर्ष दुबै हातमा लड्डु जस्तै भएको छ । यो बर्ष उनको २ वटा फिल्म रिलिज भए । भदौमा रिलिज भएको फिल्म ‘ऐँचो  पैँचो’ले बक्स अफिसमा खासै कमाल गरेन । तर, यो फिल्मले नायिका राउतलाई भने खुबै फाइदा भयो । यो फिल्मबाट उनको अभिनयको चौतर्फी तारिफ भयो ।

जसकाकारण, फिल्म चलेपछि वर्षा दर्शकको प्रतिक्रिया बुझ्न मोफसल टुरमा पनि निस्किइन् । 

उनी, दर्शकसँग नाचिन् र रमाइन् । फिल्म नचल्दा पनि वर्षालाई खासै फरक परेन । किनकी, उनले दर्शकको र समीक्षकको राम्रो तारिफ पाएकी थिइन् । 

यो बर्षको अन्तिम महिनामा रिलिज भएको उनी अभिनित फिल्म ‘महाजात्रा’ले त उनलाई खुशी नै खुशी दिएको छ । यो फिल्मले बक्स अफिसमा कमालको व्यापार गरिरहँदा वर्षाको कामको पनि तारिफ भएको छ । यसपटक, फिल्ममा उनको भूमिका पनि लामो र महत्वपूर्ण छ । जसलाई उनले गज्जबसँग निर्वाह गरेकी छिन् । 

एकातिर बक्स अफिसको खुशी अर्कोतिर कामको प्रशंसा, वर्षाको दुबै हातमा लड्डु परेको छ । अर्को बर्ष उनको ‘मेयर’ रिलिज हुने पक्का छ । साइन गरेका अरु फिल्म पनि रिलिज भएको खण्डमा उनलाई फाइदा नै हुनेछ ।