भिडमा खिचिदै फिल्म

निर्देशक दीपेन्द्र के खनालले फिल्म ‘मेयर’को छायांकनका लागि नसोचेको क्राउड पाए । सामान्य तरिकाले यो फिल्म खिच्नु परेको भए दीपेन्द्रले दैनिक २–३ हजार र क्लाइमेक्समा ११ हजारको क्राउड जुटाउन सक्ने थिएनन् ।

अधिकांश फिल्ममा यति धेरै क्राउड देखाउनका लागि भीएफएक्सको प्रयोग गरिएको हुन्छ । तर, दीपेन्द्रले भने यसपटक कथाले मागे अनुसार ठूलो भीडमा फिल्म खिच्न पाए । 

फिल्म ‘मेयर’ले बागमती नगरपालिकाका मेयर भरतबहादुर थापाको कथा भन्छ । यसैले, यसपटक स्थानीयले पनि फिल्मको टिमलाई खुलेर सहयोग गरे । जसकाकारण, यति ठूलो क्यानभासमा पहिलो पटक फिल्म खिचिएको दाबी निर्माणपक्षको छ । 

यस्तै, भिडमा अर्को फिल्म ‘बेहुली फ्रेम मेघौली’को पनि छायांकन भइरहेको छ । यो फिल्ममा बिहेको दृश्य खिचिएको छ । साथै, अन्य थुप्रै दृश्यमा भने निर्माणपक्षले राम्रै भिड देखाएको छ । निर्माणपक्षले दिएको  जानकारी अनुसार, बिहेको दृश्यमा ३ हजार भन्दा बढी क्राउड खिचिएको छ ।

स्थानीय बासिन्दाले राम्रो साथ दिएकाले पनि निर्माणपक्षलाई सहज भएको हो । 

कथाले मागे अनुसारको भिड देखाउन पाउँदा निर्माणपक्ष पनि उत्साहित छ । भोलिका दिनमा फिल्म हेर्दा पनि दर्शकलाई कथाले मागे अनुसारको दृश्यले उत्साहित बनाउने निश्चित छ । 

फिल्म ‘बेहुली फ्रेम मेघौली’मा निश्चल बस्नेत र स्वस्तिमा खड्काको मुख्य भूमिका छ । यो फिल्मलाई उत्कृष्ट बनाउन निर्देशक आकाश बरालको टिम लागिपरेको छ । 

फिल्म ‘मेयर र बेहुली फ्रेम मेघौली’का मेकरले राम्रो भिडमा फिल्म खिचिरहेका छन् । अब, यी दृश्यलाई मेकरले फिल्ममा कसरी देखाउँछन्, त्यो भने हेर्न बाँकी छ ।