ओलीले ‘महाजात्रा’लाई दिए १० मा ९.५
नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बेलुकी फिल्म ‘महाजात्रा’ हेरेका छन् । उनले, फिल्म हेरेपछि १० मा ९.५ रेटिङ समेत दिएका छन् । उनी पत्नी राधिका शाक्यसहित पार्टीका विभिन्न नेताहरूको साथमा हल पुगेका हुन् ।
उनले फिल्म हेरेपछि भने–‘फिल्मलाई १० मा १० अंक दिन केही राजनीतिका विषयले रोक्यो । त्यसकारण ०.५ घटाएको हुँ । फिल्म राम्रो बन्न सन्देश दिने कथा र त्यसलाई सम्प्रेषण गर्ने अभिनय चाहिन्छ, यी दुबै पक्ष महाजात्रामा सशक्त छन् । यसले बाटो बिराएकालाई सही मार्गमा हिँड्न प्रेरणा दिन्छ । पहिलो हाफमा मनोरञ्जन र दोस्रो हाफमा सन्देश दिएको छ । फिल्म काल्पनिक कथामा बन्छ र राजनीति यथार्थमा चल्छ । त्यसकाकारण, फिल्मबाट गलत कार्यमा लागेकालाई सही बन्न प्रेरणा मिल्छ ।’
फिल्म हेर्नका लागि अध्यक्ष ओलीसँगै नेताहरु ईश्वर पोखरेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, रघुजी पन्त, कोमल ओली लगायतका ४० नेताहरु हल पुगेका थिए । गायिका कोमल वलीले फिल्म हेरेपछि भनिन्–‘फिल्मको सुरुवातदेखि नै म हाँसी रहेको थिएँ । फिल्म त्यतीमा मात्र सीमित छैन । यसले, भ्रष्टाचार विरोधी भावना उजागर गर्नुपर्छ, राजनीति गर्नेले सही रुपमा राजनीति गर्नुपर्छ भन्ने सन्देश दिएको छ ।’
फिल्म हेर्न पुगेका नेताहरूलाई फिल्मका निर्देशक प्रदीप भट्टराई, कलाकारहरू हरिवंश आचार्य, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, अरविन खड्का लगायतले भेटेर धन्यवाद दिएका थिए । यसअघि यो फिल्म पूर्व रानी कोमल राज्यलक्ष्मी देवी शाह र उप–प्रधान तथा गृहमन्त्री रवि लामिछानेले पनि हेरिसकेका छन् । षट्कोण आर्ट्सको ब्यानरमा बनेको यो फिल्मले रिलिजको ४ दिनमा करिब ५ करोड ग्रस कलेक्शन गरिसकेको छ ।
प्रतिक्रिया