विकेन्डमा ‘महाजात्रा’को कमाई ४ करोड माथि, गृहमन्त्रीले हेरे फिल्म

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले फिल्म ‘महाजात्रा’ उत्कृष्ट बनेको प्रतिक्रिया दिएका छन् । आइतबार बेलुकी लाबिम मलमा रहेको क्यूएफएक्स हलमा फिल्म हेरेपछि मन्त्री लामिछानेले आफू यो सिरिजको फ्यान भएको बताएका हुन् । 

पत्नी निकिता पौडेलसँग हल पुगेका लामिछानेले भने–‘मलाई यो श्रृङ्खलाका अघिल्ला २ फिल्म पनि निकै मन परेको थियो । म निर्देशक प्रदीप भट्टराई, अभिनेता विपिन कार्की, रविन्द्र सिंह बानियाँ र रवीन्द्र झाको फ्यान नै हुँ । सोही कारण पनि मैले फुर्सदको समय सदुपयोग गर्दै फिल्म हेरेको हुँ । नेपाली फिल्मलाई हलमै आएर हेर्नुपर्छ ।’

फिल्मको बिषय प्रहरी र अनुसन्धानसँग जोडिएको भएकाले पनि आफू आकर्षित भएको उनले बताए । उनले, फिल्म हेरेपछि झनै उर्जा थपिएको प्रतिक्रिया दिएका थिए । फिल्ममा मनोरञ्जनसँगै राजनीतिका बिषय र देशको समस्यालाई समेटिएको भन्दै मन्त्री लामिछानेले आफूलाई यसले उर्जा मिलेको प्रतिक्रिया दिए । 

यो फिल्मले रिलिजको तेस्रो दिन पनि बम्पर व्यापार गरेको छ । रिलिजको तेस्रो दिन फिल्मले १ करोड २० लाख ग्रस कलेक्शन गरेको निर्माणपक्षले बताएको छ । फिल्मले विकेन्डमा ४ करोड २६ लाखको व्यापार गरेको छ । रिलिजको पहिलो दिन १ करोड २३ लाखको व्यापार गरेको फिल्मले शनिबार १ करोड ८३ लाखको व्यापार गरेको थियो । 

प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, वर्षा राउत, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, राजाराम पौडेल, दिव्य देव लगायतका कलाकारको अभिनय छ । फिल्मले बक्स अफिसमा १० करोड माथिको ग्रस कलेक्शन गर्ने अपेक्षा गरिएको छ ।