‘मेयर’को फ्रेममा ११ हजार जनता

सर्लाहीमा फिल्म ‘मेयर’को क्लाइमेक्सको छायांकन गरिएको छ । २ दिन लगाएर गरिएको क्लाइमेक्सको छायांकनमा ११ हजार जनता सहभागी भएका छन् । ११ हजार जनतालाई क्यामेराको फ्रेममा राखेर निर्देशक दीपेन्द्र के खनालले फिल्म खिचेका हुन् । 

निर्देशक खनालले उत्साहित हुँदै भने–‘यसपटक हामीले सोचे भन्दा धेरै राम्रो वातावरण र क्राउडमा काम गरिरहेका छौं । यो पटक हामीले साँच्चिकै ठूलो क्राउडमा काम गर्ने अवसर पायौं ।’

यो फिल्मको छायांकन करिब एक महिनादेखि सर्लाहीको बागमती नगरपालिकामा भइरहेको छ । फिल्मको अधिकांश दृश्यमा ३–४ हजार जनता सहभागी थिए । क्लाइमेक्समा भने ११ हजार जनतालाई सहभागी गराइएको हो । 

यो फिल्मको शीर्ष भूमिकामा नायक खगेन्द्र लामिछानेले काम गरिरहेका छन् । यो फिल्मले सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत कुमार थापाको जीवन संघर्षको कथा भन्छ । फिल्मको केही दृश्यको छायांकन भने काठमाडौं र सिन्धुलीमा हुनेछ । पटकथा प्रडक्शनको ब्यानरमा निर्माण भइरहेको फिल्ममा महेश दवाडीको पटकथा, कृष्ण बहादुर थापाको छायांकन छ ।

फिल्ममा अर्पण थापा, अनुप बराल, हरिहर शर्मा, वर्षा राउत, रविन्द्र झा, प्रकाश घिमिरे, रमेश वुढाथोकी, संजोग रसाइली, आशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बीसी लगायतको अभिनय छ ।

यही फिल्मबाट मेयर थापाकी छोरी अर्विशा थापाले फिल्म क्षेत्रमा डेब्यू गरेकी छिन् । श्रृष्टिमाँ खनाल र शर्मिला पाण्डेको लगानीमा बनिरहेको फिल्ममा दीपेन्द्र के खनाल कार्यकारी निर्माताको रुपमा छन् ।