‘फर्की फर्की’पछि अनमोलको लाइनअपमा ‘पारस, ए मेरो हजुर ५ देखि जेरी’सम्म

नायक अनमोल केसीले काम गरिरहेको फिल्म ‘फर्की फर्की’को छायांकन अन्तिम चरणमा पुगेको छ । यो फिल्मको चैत्र १७ गते अनमोलको जन्मदिनको अवसर पारेर फस्टलुक सार्वजनिक गर्ने तयारीमा यसको निर्माणपक्ष छ । 

यो फिल्मको दुई वटा गीतको छायांकन गर्न बाँकी नै छ । यसपछि, भने अनमोलले कुन फिल्ममा काम गर्दैछन् भन्ने कौतुहलता पनि उनका फ्यानहरुलाई छ । 

अनमोलले फिल्म ‘जेरीः अन टप’ साइन गरिसकेका छन् । यो फिल्मलाई सुयोग गुरुङले निर्देशन गर्दैछन् । यो फिल्मको छायांकन कहिलेबाट सुरु हुन्छ पक्का छैन । 

अनमोललाई आफ्नै घरको फिल्म ‘पारस’को पनि छायांकन सक्नुपर्नेछ । किनकी, यो फिल्म निर्माण हुने भनेको केही बर्ष भइसकेको छ । तर, अहिलेसम्म फिल्मको छायांकन पनि सुरु हुन सकेको छैन । अनमोल यो फिल्मको छायांकन पनि यसै बर्ष सक्ने योजनामा छन् । उनका पिता भुवन केसी हाल चलचित्र विकास बोर्डको अध्यक्ष पदमा छन् । साउन महिनाबाट भुवन केसीको कार्यकाल सकिँदैछ । यसपछि, ‘पारस’को काम अगाडि बढाउने तयारी गरिएको छ । 

नायक केसीलाई निर्माता सुनिल कुमार थापा र निर्देशक झरना थापाले पनि फिल्म ‘ए मेरो हजुर ५’को पनि अफर गएको छ । झरना र सुनीलले विगत केही समयदेखि यो फिल्मको लागि काम गरिरहेका छन् । यो फिल्मलाई आउँदो बर्षको तिहारपछि खिच्ने तयारी गरिएको छ । फिल्ममा अनमोलले नायिका सुहाना थापासँग रोमान्स गर्नेछन् । फिल्मलाई आउँदो बर्षको चैत्रको अन्तिम साता रिलिज गर्ने योजना यसको निर्माणपक्षको छ । 

यसरीहेर्दा, अनमोल केसी आउँदो बर्षभरी व्यस्त हुने देखिएको छ ।