‘जारी २’ बनाउने रहर छैन, अब च्याङ्ग्राको कथा भन्न मन छः उपेन्द्र सुब्बा
निर्देशक तथा लेखक उपेन्द्र सुब्बाले अब आफूलाई मान्छेको मात्र नभएर च्याङ्ग्राको कथा भन्न मन लागेको बताएका छन् ।
मेरो फिल्मसँग कुरा गर्दै उपेन्द्रले भने–‘मलाई एउटा च्याङ्ग्राको कथा भनुम कि भन्ने दिमागमा आएको छ । हेरौं सक्छु कि सक्दिनँ । हुनत मलाई मेरो समुदायकै कथा भन्न सहज हुन्छ । किनकी, लिम्बु जातिको सबै रहनसहन, परिवेश मलाई थाहा छ । तर, सधैं सहजता मात्र खोजेर पनि हुँदैन नी । आखिर मानिसले अप्ठ्याराहरू पनि खोज्नु पर्ने रहेछ ।’
उपेन्द्रले फिल्म भनेको दिमागमा रहँदा मात्र आनन्द आउने बिषय रहेको बताए । भने–‘फिल्म फेरि संझिदा सम्म मात्र आनन्द हो । दिमागमा बनाउँदासम्म मात्र यसको मज्जा आउँछ । खिच्ने बेलामा रामराम । खिच्दै गयो बिग्रँदै जान्छ ।’
‘जारी’ फिल्म ब्लकबस्टर भएपछि उपेन्द्रको चर्चा निर्देशनमा पनि छ । तर, उनी ‘जारी २’ बनाउन आफूलाई खासै रहर नभएको बताउँछन् ।
रमाइलो शैलीमा उनले भने–‘मलाई जारी २ बनाउन साह्रै रहर त छैन । तर, कहिलेकाही पैसाको समस्या हुँदा बनाउँ जस्तो पनि लाग्छ । तर, जुन मज्जा नयाँ कथा भन्दा छ नी, त्यो सिक्वेलमा हुँदैन । नयाँ कथामा नयाँ पात्रसँग काम गर्न मज्जा हुन्छ । अब, सिक्वेलमा त उही पुरानै पात्र राख्यो, यसो जोडजाड गर्यो त्यही त हो नी ।’
फिल्म ‘मनसरा’ बनाएका उपेन्द्र यसबाट निकै आशावादी पनि छन् । यो फिल्मले समुदायमा रहेका फरक–फरक जातिका मानिसहरूको कथा भन्छ । यो फिल्म वैशाखको २१ गतेबाट रिलिजमा आउँदैछ ।
प्रतिक्रिया